काठमाडौँ । सात सय ५३ वटा स्थानीय तहमा यही वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवार दिनेको संख्या एक लाख ४७ हजार नाघेको छ । आइतबार र सोमबार देशभर उम्मेदवारी दर्ता कार्यक्रम राखिएको थियो । कतिपय ठाउँमा मंगलबार बिहानसम्म पनि उम्मेदवारी दर्ता प्रक्रिया जारी थियो ।
निर्वाचन आयोगले मंगलबार दिउँसो दिएको जानकारीअनुसार विभिन्न पदमा एक लाख ४७ हजार दुई सय ७४ जनाको उम्मेदवारी परेको छ । ३५ हजार दुई सय २१ जना मात्र निर्वाचनबाट प्रत्यक्ष निर्वाचित हुनेछन् ।
निर्वाचन आयोगले वडा सदस्यका लागि पाँच सय, वडा अध्यक्षका लागि एक हजार र अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुख पदमा उम्मेदवारी दिनेसँग एक हजार पाँच सयका दरले शुल्क उठाएको छ ।
प्रमुख÷उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारीबाट मात्र आयोगले एक करोड ६९ लाख आठ हजार रुपैयाँ संकलन गरेको छ । प्रमुखमा तीन हजार चार सय ३० जना, अध्यक्षमा तीन हजार तीन सय ६३ जना, उपप्रमुखमा दुई हजार ९७ जना, उपाध्यक्षमा दुई हजार तीन सय ८२ जना गरी ११ हजार दुई सय ७२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । उनीहरुले उम्मेदवारी फिर्ता लिए पनि दाखिला गरेको रकम भने फिर्ता पाउनेछैनन् । आयोगका अनुसार प्रमुखबाट ५१ लाख ४५ हजार, उपप्रमुखबाट ३१ लाख ४५ हजार ५ सय, अध्यक्षबाट ५० लाख ४४ हजार पाँच सय र उपाध्यक्षबाट ३५ लाख ७३ हजार रुपैयाँ उम्मेदवारी शुल्क संकलन भएको छ ।
निर्वाचन आयोगका अनुसार ३४ हजार तीन सय ५७ जनाले वडा अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । उनीहरुबाट तीन करोड ४३ लाख ५७ हजार रुपैयाँ संकलन भएको छ ।
आयोगका अनुसार महिला सदस्यकाका लागि २५ हजार तीन सय ४५ जना, दलित महिला सदस्यका लागि २२ हजार आठ सय ९९ जना र सदस्यका लागि ५३ हजार चार सय एक जना गरी एक लाख एक हजार छ सय ४५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । उनीहरुबाट पाँच करोड आठ लाख २२ हजार पाँच सय शुल्क उठेको छ । आयोगका अनुसार कुल एक लाख ४७ हजार दुई सय ७४ जनाबाट १० करोड, २० लाख, ८७ हजार पाँच सय रुपैयाँ संकलन भएको छ ।
देशभर छ महानगरपालिका, ११ वटा उपमहानगरपालिका, दुई सय ७६ नगरपालिका र चार सय ६० गाउँपालिका गरी सात सय ५३ वटा स्थानीय तह छ । सात सय ५३ स्थानीय तहमा छ हजार सात सय ४३ वटा वडा छ ।
देशभर छवटा महानगरपालिकाका प्रमुख र उपप्रमुख गरी १२ जना, ११ वटा उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख २२ जना, दुई सय ७६ वटा नगरपालिकामा प्रमुख र उपप्रमुख पाँच सय ५२ जना, चार सय ६० वटा गाउँपालिकाहरुमा प्रमुख र उपप्रमुख नौ सय २० जनासमेत सात सय ५३ स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी एक हजार पाँच सय छ जना निर्वाचित हुनेछन् ।
त्यस्तै, छ हजार सात सय ४३ जना वडा अध्यक्ष र चार जनाको दरले २६ हजार नौ सय ७२ जना वडा सदस्य निर्वाचित हुनेछन् । निर्वाचनबाट प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यगरी कुल ३५ हजार दुई सय २१ जना प्रत्यक्ष निर्वाचित हुनेछन् ।