काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मेडिकल शिक्षा आर्जनका लागि वर्षेनी ९८ अर्ब रूपैयाँ देशबाहिर जाने गरेको बताएका छन् । देशमा पढ्ने व्यवस्था मिलाएर शिक्षा प्राप्तिका लागि बाहिरिने रकम नेपालमै राख्न आफूले जोड दिएको उनले बताए ।
मेडिकल शिक्षालाई नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षा मन्त्रालयले मंगलबार चिकित्सा शिक्षा, त्रिभुवन शिक्षण अस्पताल, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, संस्कृत विश्वविद्यालयलगायतका पदाधिकारीसँग गरेको छलफलमा मन्त्री पौडेलले देशमा मेडिकल शिक्षा पढ्ने विद्यार्थीको आकर्षण बढ्ढो रहेको उल्लेख गरे । ‘देशबाहिर पढ्न गएकाहरू नेपालमा आएर परीक्षा दिई डाक्टर बनिरहेका छन् । उनीहरूलाई नेपालमै पढ्ने र परीक्षा दिने व्यवस्था गरौँ’, उनले भने । देशमा पढ्ने व्यवस्था मिलाएर शिक्षा प्राप्तिका लागि बाहिरिने रकम नेपालमै रहनेमा उनको जोड रहेको छ । मन्त्री पौडेलले कागजमा दक्ष जनशक्ति प्रर्याप्त देखिए पनि फिल्डमा नभएको गुनासो गरे । ‘अवसरमा प्रतिस्पर्धा गर्ने दायर बढाइ क्वालिटीको शिक्षामा ध्यान दियौँ भने मात्रै उत्पादित जनशक्ति बेरोजगार बस्नु पर्दैन’, उनले भने, ‘शिक्षालाई नियमन गरौँ भन्दा हामी खुम्चिएका छौँ ।’ मन्त्री पौडेलले केही ऐन र कानुनको जटिलताले गर्दा सीमितबाहेकले देशमा पढ्न पाउने अवसर गुमाइरहेको पनि बताए । छलफलमा सहभागीहरूले मेडिकल क्षेत्रमा बजेट कम हुँदा धेरै समस्या आएको बताउँदै बजेट बढाउन मन्त्रीलाई आग्रह गरेका थिए ।