दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीका ठाकुर खनाल घर अगाडि उडेको धुलोले आजित हुनुहुन्छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडकमा दिनदिनै उड्ने धुलोको असर उहाँले शब्दमा बयान गर्न सक्नुहुन्न ।
“दुई वर्ष भयो धुलो खाँदै बस्नुपरेको, धुलोले कति आजित र हैरान भयौ भन्ने कुरा भनिसाध्य छैन”, उहाँले भन्नुभयो, “धुलोका कारण कति पटक त बिरामी पनि परियो ।” विगत दुई वर्षदेखि सडक भत्किएर खाल्डाखुल्डी हुँदा दुर्घटनामा धेरैले ज्यानसमेत गुमाएको उहाँले उल्लेख गर्नुभयो । घाम लाग्दा धुलो, पानी पर्दा हिलोको समस्यामा यहाँका सर्वसाधारणले वर्षौंदेखि सास्ती खेप्दै आएको खनालले बताउनुभयो ।
“यो समस्या समाधानका लागि धेरैपटक सम्बन्धित निकाय गुहा¥यौँ, तर कहीँबाट पनि समाधान भएन”, उहाँले भन्नुभयो, “हैरान भइसक्यौँ ।” शुक्लागण्डकी नगरपालिका–२ हलेदीका शङ्कर पन्तले दुई वर्षदेखि धुलाम्य बाटोले यस ठाउँका स्थानीयवासीले हैरानी बेहोरेको बताउनुभयो । “यसको समस्या समाधानका लागि पटक–पटक ध्यानाकर्षण गरायौं, विगतमा सडक डिभिजन प्रमुखलाई कार्यालयमा पनि थुन्यौँ, तर काम भएन”, उहाँले भन्नुभयो, “विगत सडक टालटुल भयो, समस्या जहाँको तहीँ रह्यो ।”
सडक मर्मत गर्ने आश्वासन धेरै पाए पनि काम नभएको उहाँले गुनासो गर्नुभयो । “यो बाटो बनाइदिने कसले हो ? हामी त दिक्दार भयौँ, मन्त्री, मुख्यमन्त्री पनि दिनदिनै यही बाटोबाट आवतजावत गर्छन्, तर सुनुवाइ कहिल्यै भएन”, उहाँले भन्नुभयो, “धुलोले गर्दा बाँच्न नसक्ने अवस्था भइसक्यो ।”