काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ११ लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार ओखलढुंगाको साविक बलखु गाविस वडा नं ९ को परिवर्तित सुनकोशी गाउँपालिका वडा नं १ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं १० बस्ने ३४ वर्षीय राम कुमार राईलाई मंगलबार काठमाडौंको टंगालबाट पक्राउ गरिएको हो ।
प्रतिवादी राईले राष्ट्रिय वाणिज्य बैंक गौशाला शाखामा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुन भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी जाहेरवालालाई दिएको चेक भुक्तान हुन नसकेको ठहर उच्च अदालत पाटनले गरेको थियो । ‘उच्च अदालत पाटनको २०७८ फागुन २९ गते प्रतिवादी राम कुमार राईलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम दुई दिन कैद र ११ लाख ६० हजार रुपैयाँ जरिवाना हुने ठहर भएको थियो । त्यसपछि फरार रहेका राईलाई मंगलबार काठमाडौंको टंगालबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेका हौँ’, प्रहरी उपरीक्षक महतोले भने ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सुमन नेपालीलाई भने बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी भएको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले नेपालीलाई पक्राउ गरेको हो । कार्यालयका अनुसार नेपालीलाई बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले वि.सं. २०७७ फागुन १७ गतेको फैसलाले छ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
काभ्रेको बल्थली गाविस वडा नं ८ परिवर्तित पनौती नगरपालिका वडा नं. ११ स्थायी घर भई हाल काठमाडौंको सुन्धारा बस्ने ३९ वर्षीय नेपालीलाई बुधबार काठमाडौंको बबरमहलबाट पक्राउ गरिएको हो । पक्राउ परेको नेपालीलाई सोही दिन नै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।