अमेरिका । अर्बपति इलोन मस्कको विद्युतीय कार कम्पनी टेस्लाको सेयर मूल्यमा भारी गिरावट देखिएको छ । सामाजिक सञ्जाल ट्विटर खरिद गर्नलागेका मस्कले त्यसका लागि टेस्लाको सेयर बेच्नुपर्ने अवस्था आउनसक्नेतर्फ लगानीकर्ताले ध्यानाकर्षण गरेको बताइएको छ ।
टेस्लाको कुल मूल्यमा मंगलबार सेयरबजारमा एक खर्ब २५ अर्ब डलरभन्दा धेरैले कमी आएको छ । एक विश्लेषकका अनुसार यसले कम्पनीमा मस्कले सुरक्षित गरेको साढे १२ अर्ब डलरका लागि समस्या निम्त्याउनसक्नेछ ।
मस्क पाँचवटा कम्पनी हाँक्ने तयारी गरिरहँदा यसले उनीसामु चुनौती खडा हुनसक्ने देखिएको छ । टेस्लाका लागि मस्कको ट्विटर खरिद अभिशाप हुनसक्नेतर्फ केही टेस्लाका सेयरधनी सशंकित बनेका छन् । १२.२ प्रतिशतले सेयर खस्किँदा टेस्लाको कुल मूल्यांकन १० खर्बबाट झरेर नौ खर्ब छ अर्ब डलरमा झरेको छ ।
मस्क धेरै काम गर्छन् । सन् २०१९ मा उनलाई हप्तामा ९० घण्टा काम गरेको सत्य नै हो त भनेर सोधिएको थियो । ‘बितेका वर्ष यस्ता घण्टाहरु धेरै थिए’, उनको जवाफ थियो, ‘तर मजस्तै बन्नु भनेर सिफारिसचाहिँ गर्न चाहन्न, यो स्वास्थ्य र खुसीका लागि खराब हो ।’
मस्क संसारकै मूल्यवान् कार कम्पनी टेस्ला हाँकिरहेका छन् भने उनको रकेट कम्पनी स्पेस एक्स पनि रहेको छ । यसबाहेक उनको बोरिङ कम्पनी पनि छ ।