काठमाडौं । इक्रा नेपाल लिमिटेडले एनएमबी बैंकको विगतको रेटिङलाई स्तरवृद्धि आइक्रा एनपी आईआर ए रेटिङ प्रदान गरेको छ । यो रेटिङ प्राप्त गर्ने संस्थाहरू समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन् र यस्ता संस्थाहरूमा न्यून कर्जा जोखिम रहेको हुन्छ । इक्रा नेपाल लिमिटेड भारतस्थित आइक्रा लिमिटेड अफ इन्डियाको सहायक कम्पनीको रूपमा नेपालमा दर्ता भएको नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त नेपालको पहिलो रेटिङ ऐजेन्सी हो ।
विगतका वर्षहरूमा विभिन्न संस्थाहरूसँग भएको मर्जर तथा प्राप्तिको सकारात्मक प्रभाव, सोपश्चात् बैंकको कर्जाको गुणस्तरमा भएको सुधार, बलियो शाखा सञ्जालको कारण देशव्यापी रूपमा बैंकका ग्राहकहरूको संख्यामा उल्लेख्य वृद्धि तथा सोबाट बैंकको बजार हिस्सामा भएको वृद्धि, पुँजीगत पर्याप्तता तथा तरलताको सहज व्यवस्थापनका कारण बैंकको कर्जा तथा तरलताको क्षेत्रमा देखिएको जोखिम व्यवस्थापन गर्नसक्ने क्षमता, कर्जामा भएको विविधता, साना तथा मझौला कर्जामा भएको वृद्धि, बैंकको सकारात्मक विगत, असल स्वामित्व तथा कुशल र अनुभवी व्यवस्थापन समेतका आधारमा इक्रा नेपालले बैंकलाई यसअघि प्रदान रेटिङमा स्तर वृद्धि गर्दै आइक्रा आईआर ए रेटिङ प्रदान गरेको हो ।
कोभिड १९ को असरको कारणले देशको समग्र आर्थिक अवस्थामा प्रभाव परिरहेको समयमा समेत बैंकको परिसूचकहरूमा देखिएको उल्लिखित सुधारहरूले गर्दा यो स्तर वृद्धि सम्भव भएको हो । एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मापनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।