काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच सम्झौता भएको छ । बैंकले सशस्त्र प्रहरी कर्मचारीहरूको हित तथा सुविधाका लागि तलबी बचत खाता सञ्चालन तथा कर्जा कारोबारलगायतका बैंकिङ सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको प्रमुख आतिथ्य तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको उपस्थितिमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा वैशाख १४ गते आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी नायब महानिरीक्षक बिदुर खड्का र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सो सम्झौतामा हस्ताक्षर गरेका हुुन् ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत करण कुमार श्रेष्ठले बैंकको हालको अवस्था, बैंकले प्रदान गर्दै आएको सेवाबारे जानकारी गराउँँदै ७ प्रदेश ७७ जिल्लामा नै शाखा रहेको यस बैंकले सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्न पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको बताए । बैंकले गत आवको मुनाफाबाट ३३ प्रतिशत लाभांश दिन सफल भएको समेत जानकारी गराएका थिए । सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले संगठनले विभिन्न कल्याणकारी योजनाहरूमार्फत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूलाई विभिन्न सुविधाहरू प्रदान गर्दै आइरहेको उल्लेख गर्दै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकसँग भएको यस सम्झौतासँगै सशस्त्र प्रहरी कर्मचारीहरूले उक्त बैंकले प्रदान गरिरहेको विभिन्न सुविधालगायत कर्जा सुविधा समेत न्यून शुल्कमा प्राप्त गर्ने बताए ।
उनले राष्ट्र सेवक सशस्त्र प्रहरी कर्मचारीहरूलाई प्रदान गरिने सेवा तथा सुविधा वितरणमा उक्त बैंकले पु-याउने सहयोगप्रति हार्दिक आभार प्रकट गर्दै सो सुविधाले सकल दर्जाका कर्मचारीहरूको हौसला अभिवृद्धि भई राज्यप्रदत्त जिम्मेवारीहरूमा अझ कटिबद्ध भई क्रियाशील रहन ऊर्जा प्रदान गर्ने विश्वास समेत व्यक्त गरे । सशस्त्र प्रहरी बल नेपालमा कार्यरत राष्ट्रसेवकहरूले पाउने तलब भत्ता तथा आर्थिक सुविधाहरू अनिवार्यरूपमा बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने नेपाल सरकारको नीतिअनुरूप भएको सो सम्झौतासँगै सशस्त्र प्रहरी कर्मचारीहरूले विनाधितो पाँच वर्षका लागि अधिकतम १५ लाखसम्मको ऋण सुविधा पाउनुका साथै बैंकले प्रदान गरिरहेको अन्य विविध सुविधाहरू समेत पहिलो वर्षको लागि निःशुल्क र त्यसपश्चात् न्यून शुल्कमा उपभोग गर्न पाउनेछन् ।
कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ अधिकृतहरू तथा सो बैंकका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो । देशभर बैंककोे हाल दुई सय ५८ वटा शाखा कार्यालय, दुई सय ४५ वटा एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउन्टर, ९८ शाखारहित बैंकिङ सेवासहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।