काठमाडौं । मुलुकमा हालसम्म पनि निर्यातसम्बन्धी नीति बन्न नसकेका कारण निकासी व्यापारले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको भन्दै निजी क्षेत्रले निर्यात नीतिको माग गरेको छ । निर्यातसम्बन्धी ठोस नीति नहुँदा राज्यका निकायहरूबीच समन्वय अभाव रहेको तथा निजी क्षेत्र समेत अलमलमा परेको भन्दै यस्तो नीतिको माग गरिएको हो ।
नेपाल हातेकागज संघको १५औँ वार्षिक साधारणसभा तथा नेपाली कागज प्रदर्शनीमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले निर्यातजन्य वस्तुलाई उचित संरक्षण र संवर्द्धन गर्न नसक्दा मुलुकको अर्थतन्त्र नै आयातमुखी बन्दै गएको बताए । ‘अहिलेसम्म हाम्रो देशको निर्यातसम्बन्धी नीति के हो भन्ने हामी कसैलाई थाहा छैन’, उनले भने, ‘निर्यातमा नगद प्रोत्साहन नीति भनेर ल्याइयो तर त्यो यति झन्झटिलो बनाइएको छ कि त्यो लिन खोज्यो भने निर्यातकर्ताको मनोबल नै कमजोर बनाउँछ ।’ मुलुकको अर्थतन्त्रमा घरेलु उद्योगको योगदान २२ प्रतिशत रहे पनि निर्यातमुखी समेत रहेका यस्ता उद्योग सरकारी उपेक्षाको शिकार बन्दै गएको उनको भनाइ छ ।
सभामा संघका अध्यक्ष किरणकुमार डंगोलले नेपालको मौलिक उत्पादन हातेकागज निकासीमा ९० प्रतिशतसम्म मूल्य अभिवृद्धि भइरहे पनि राज्यले यसलाई प्राथमिकतामा राख्न नसक्नु दुःखद् भएको बताए । उनले निकासी बढाउने इच्छाशक्ति नहुँदा खर्बौँको आयात र व्यापारघाटा हुँदा पनि टुलुटुलु हेरिरहनुपरेको उल्लेख गरे । नेपाली कागजमा गुणस्तर वृद्धिका लागि आफूहरू तयार रहेको बताउँदै अध्यक्ष डंगोलले स्वदेशमा पनि यसको खपत बढाउनुपर्ने र निकासीमा सहजीकरण गर्न सरकारसँग आग्रह गरे । नेपाली लोक्ताबाट जापानले नोटसमेत बनाएको स्मरण गर्दै अध्यक्ष डंगोलले यसबाट रोजगारी सिर्जना गर्न सकिने अथाह सम्भावना रहेको बताए ।
कार्यक्रममा उद्योगसचिव अर्जुनप्रसाद पोख्रेलले हातेकागज प्रशोधनमा परम्परागत प्रविधिलाई आधुनिकीकरण गर्नुपर्ने र श्रमको उत्पादकत्व बढाउनुपर्ने धारणा राखे । मन्त्रालयले उत्पादन र बजारीकरणमा सहयोग गर्ने उनको भनाइ छ । सचिव पोख्रेलले गुणस्तरीय उत्पादनमा खरो उत्रन व्यवसायीलाई आग्रह गरेका थिए । निर्यात व्यवसायी महासंघ नेपालका उपाध्यक्ष चण्डीप्रसाद अर्यालले निर्यातजन्य वस्तुले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नुपर्ने भएकाले लागत कम गर्नेतर्फ योजना बनाउनुपर्ने धारणा राखे । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले गुणस्तरीय उत्पादनका लागि श्रमिकलाई तालिम जरुरी रहेको बताए ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका निर्देशक लक्ष्मी जोशीले कुल निकासीमा हातेकागजको शून्य दशमलव ८४ प्रतिशत योगदान रहेको र वार्षिक एक अर्ब ३५ करोडको निकासी हुनेगरेको तथ्यांक प्रस्तुत गर्दै यसको उत्पादनमा गुणस्तर बढाउँदै बजारीकरणमा सहकार्य गर्ने बताइन् । कार्यक्रममा हातेकागजबाट निर्मित सामग्रीहरू प्रदर्शनीमा राखिएको थियो भने पाँच उत्कृष्ट हातेकागज निर्यातकर्ता र उत्पादकलाई सम्मान गरिएको थियो ।