काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको लागि मतदान हुने दिन आगामी वैशाख ३० गते सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ । यस्तै आयोगले निर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न मतदानस्थल रहेका विद्यालयहरू तीन दिनका लागि बन्द गर्न पनि सरकारसँग आग्रह गरेको छ ।
आयोगमा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले वैशाख २८ गतेदेखि वैशाख ३० गतेसम्म तीन दिनका लागि मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले मतदान केन्द्र तोकिएका विद्यालयहरू बन्द गरी सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन र वैशाख ३० गतेलाई सार्वजनिक बिदा दिन मुख्य सचिवमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने जानकारी दिए । यस्तै आयोगले मतदानस्थल तथा केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवं भौतिक संरचना मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवन र भवन परिसर पनि तीन दिन वैशाख २८ गते ३० गतेसम्म उपलब्ध गराउन संघीय मामिला तथा सामान्य मन्त्रालयमार्फत सबै स्थानीय तहमा लेखी पठाउने निर्णय गरेको छ ।
यसैगरी आयोगले स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका २०७८ को दफा ५ को उपदफा (१) मा उल्लेख भएको जनशक्तिको अतिरिक्त मतपत्र रुजु गरी पठाउनको लागि महानगरपालिकाको हकमा सोही निर्देशिकाको दफा ५ (९) बमोजिमको अवधिभरको लागि शाखा अधिकृत दुई जना, सहायक कर्मचारी दुई जना, कम्प्युटर अपरेटर एक जना, सवारीचालक एक जना र कार्यालय सहयोगी दुई जना थप गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ । साथै आयोग र सामाजिक सञ्जाल भाइबरले आधिकारिक रूपमा निर्वाचन आयोगको भाइबर ग्रुप औपचारिकरूपमा सुरू गरेको छ । निर्वाचन आयोगले यस प्लेटफर्मको प्रयोग गरी नागरिक तथा निर्वाचन सरोकारवालाहरूलाई समयसापेक्ष, अद्यावधिक र सही सूचना उपलब्ध गराउनेछ । यो प्लेटर्फमको प्रयोग गरी नागरिक र निर्वाचन सरोकारवालाहरूले स्थानीय तह निर्वाचन २०७९ सम्बन्धी मतदाता शिक्षा र विभिन्न जानकारी प्राप्त गर्न सक्नेछन् ।
आयोगका अनुसार हालसम्म ७२ जिल्लाका लागि एक करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । यस्तै ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको आयोगको भनाइ छ ।