काठमाडौं । कम्पनी ऐन, २०६३ बमोजिम २०७५ सालमा संस्थापित नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले वैज्ञानिक खाद्यान्न भण्डारण गृह, बोलकबोलको माध्यमबाट खाद्यान्न किनबेच र खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा वैंक तथा वित्तीय संस्थाहरूमार्फत ऋण प्रवाह हुने वातावरण तथा उपयुक्त पूर्वाधार निर्माण गर्ने उद्देश्य लिएको छ । साथै नेपाल इन्फ्रास्टक्चर बैंक लि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अन्तर्गत पूर्वाधार विकास बैंकको रूपमा दर्ता भएको बैंकले पूर्वाधार विकासमा स्वपुँजी तथा ऋण लगानी गर्ने उद्देश्य लिएको छ ।
यो कम्पनी संस्थापन गर्नका उद्देश्यहरूमध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारणगृह निर्माण गरी सो भण्डारणगृहमा कृषकहरूले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ । कृषकको आवश्यकताबमोजिमको सुरक्षित तथा वैज्ञानिक तवरको भण्डारणगृह हालसम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा बजारमा बिक्री गर्नुपर्ने बाध्यता कृषकसँग रहिरहेको छ । अर्कोतर्फ त्यही खाद्यान्न केही महिनाको छोटो अन्तरालमा महँगो मूल्यमा कृषक समेतले दैनिक उपभोगका लागि खरिद गर्नुपर्ने अवस्था छ । यो समस्याको समाधानका लागि नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले देशका तीनवटा महत्वपूर्ण स्थानहरू सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारणगृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औद्योगिक प्रतिष्ठान तथा दाना उत्पादकहरूलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।
कृषकहरूबाट उत्पादित खाद्यान्न भण्डारण गर्नुका साथै कृषकहरूलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले ती तीनवटै जिल्लामा निर्माण हुने भण्डारणगृहको परिसरमा बोलकबोलको माध्यमबाट खाद्यान्न किनबेच हुने वातावरण र पद्धत्तिलाई समेत व्यवस्थित गर्ने लक्ष्य राखेको छ । साथै कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरूलाई घरखर्च तथा अर्को बालीका लागि आवश्यक पर्ने पुँजीको अभाव हुन नदिन निजहरूले कम्पनीको भण्डारणगृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयर हाउस रसिदको आधारमा वैंक तथा वित्तीय संस्थाहरूमार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरिएको छ ।
यस कम्पनीले सञ्चालन गर्न लागेको र निर्माण भइरहेका परियोजनाहरूको लागत एक अर्ब ३९ करोड रुपैयाँ रहेकोमा सो लगानीमध्ये ९४ करोड ऋण र बाँकी स्वपुँजीबाट परिचालन गरिनेछ । यस कम्पनीको हालको पँुजी २३ करोड ३७ लाख रुपैयाँ रहेकोमा सेयरधनीहरूबाट समेत गरी जम्मा ५५ करोड जुटाइने कम्पनीको भनाइ छ ।
उक्त सम्झौताबमोजिम, कुल जारी चुक्ता पुँजी ५५ करोडमध्ये नेपाल इन्फ्रास्टक्चर बैंकले कम्पनीमा पाँच करोडबराबरको स्वपुँजी लगानी गर्नेछ । अन्य लगानीकर्ताहरूबाट बाँकी हुन आउने ५० करोड जम्मा भएपश्चात् आगामी आर्थिक वर्ष २०७९–०८० मा सार्वजनिक निष्काशनबाट कुल पुँजीको २० प्रतिशतमा हुनआउने १३ करोड ७५ करोडबराबरको प्राथमिक सार्वजनिक निष्काशनबाट लगानी जुटाइने कम्पनीले जानकारी दिएको छ ।