वेइजिङ । कोरोना भाइरसको संक्रमण फेरि तीव्र रुपमा फैलिन थालेपछि चीनको बेइजिङका विद्यालयहरू बन्द गरिएको छ । महामारी अत्यधिक फैलिन थालेपछि हतार हतार गरेर साबिक बमोजिमको विदा सुरु हुनु एक दिनअगाडि नै विदा दिइएको हो । सरकारले बाल शिशु कक्षादेखि माध्यमिक तहसम्मका सबै विद्यालयमा पठनपाठन रोक्ने निर्णय गरेको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।
‘विद्यार्थीहरूको विदा शुक्रबारदेखि नै लागू हुन्छ, नियमित विदा भन्दा एक दिन अगाडि नै बिदा सुरु गरिएको हो’, सरकारी एक अधिकारीले भने । महामारी थप फैलिने देखेपछि केही विद्यालयहरूले भने यसअघि नै अनलाइन माध्यमबाट पठन पाठन सुरु गरेका थिए ।
विद्यालय आउनका लागि विद्यार्थी तथा शिक्षकहरूले पछिल्लो ४८ घण्टा भित्र कोरोना परीक्षण गरेको रिपोर्ट देखाउनु पर्ने र त्यसमा नेगेटिभ रिपोर्ट हुनुपर्ने सर्त राखिएको छ । विद्यालय अब पुनः कहिले सुचारु गर्ने भन्नेबारे महामारीको संक्रमणको अवस्थाका आधारमा मात्रै थाहा हुने अधिकारीहरूले जनाएका छन् ।