अमेरिका । संयुक्त राज्य अमेरिकाले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई ३३ अर्ब डलर सहयोग गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सैन्य, आर्थिक र मानवीय सहायतास्वरुप उक्त राशिको सहयोग घोषणा गरेका हुन् ।
यो सहयोग आगामी पाँच महिनाभित्र उपलब्ध गराइनेछ । बाइडेनले यो सहयोग अनुमोदन गर्न पनि अमेरिकी सांसदहरुसँग आग्रह गरेका छन् । यो प्याकेजमा २० अर्ब डलर बढी सैन्य सहायता छ भने साडे आठ अर्ब डलर आर्थिक र तीन अर्ब डलरको मानवीय सहायता समावेश छ । उनले सहयोग राशि घोषणा गर्दै यो रुसविरुद्ध अमेरिकाले आक्रमण गरेको रुपमा लिन नहुने बताए ।
ह्वाइटहाउसले अमेरिकाले पनि रुसी धनाढ्यका सम्पत्ति जफत गर्न सहज पारेको छ । ती सम्पत्ति युक्रेनलाई उपलब्ध गराउन सकिने भएको छ । बिहीबार घोषित उक्त सहयोग निकै महत्वपूर्ण छ । अमेरिकाले युक्रेनमाथि रुसी आक्रमण सुरु भएयता नै कम्तीमा १४ अर्ब डलरबराबरको सहयोग गरिसकेको छ ।
गत हप्तामात्रै बाइडेनले ८० करोड सैन्य सहायतामा हस्ताक्षर गरेका थिए । त्यस्तै प्रत्यक्ष आर्थिक सहायतास्वरुप ५० करोड डलर पनि उनले प्रमाणीकरण गरेका थिए । फेब्रुअरीको अन्त्यतिर रुसले युक्रेनविरुद्ध एकतर्फी रुपमा आक्रमण थालेको थियो ।