काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सीआईबीका अनुसार बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दिनेश भक्त ओलीलाई बिहीबार ललितपुरको ग्वार्कोबाट पक्राउ गरिएको हो ।
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नं. १ जमुनिया स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ३१, नयाँ बानेश्वर बस्ने २४ वर्षीय ओलीलाई बिहीबार ललितपुरको ग्वार्कोबाट पक्राउ गरेका हौँ’, सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोले भने । ओलीउपर प्रभु बैंक लिमिटेड कोटेश्वर शाखा र एसबीआई बैंक लिमिटेड, नयाँ बानेश्वर शाखामा रहेको आफ्नो खाताहरुबाट रकम भुक्तान हुने भनी उक्त बैंक खाताहरुमा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ कसुरका मुद्दामा वि.सं. २०७७ फागुन १६ गते र १७ गते फैसला गरेको थियो । उक्त फैसलाअनुसार प्रतिवादी दिनेश भक्त ओलीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा जम्मा १२ दिन कैद २३ लाख ६५ हजार चार सय ३४ रुपैयाँ जरिवाना हुने ठहर भएको प्रवक्ता महतोले जानकारी दिए ।
फैसलासँगै फरार ओलीलाई सीआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले पक्राउ गरेको हो । पक्राउ परेका ओलीलाई सोही दिन नै फैसला कार्यान्वयनको काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता महतोले जानकारी दिए ।