काठमाडौं । नेपालका ठूला घरानाहरुबाट सञ्चालित काठमाडौं वल्र्ड स्कुलको उद्योगी व्यवसायीहरुको एक समूहले अवलोकन भ्रमण गरेका छन् । भक्तपुर उद्योग वाणिज्य संघ र स्कुलको संयुक्त आयोजनामा भएको भ्रमण कार्यक्रममा भक्तपुरका उद्योगी व्यवसायीहरु सहभागी थिए । स्कुल भक्तपुरकै सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुमा रहेको छ ।
स्कुलको अवलोकन भ्रमणका लागि भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरको नेतृत्वमा गएका उनीहरुले स्कुलको भौतिक संरचनासहित विभिन्न पक्षहरुबारे बुझेका थिए । अध्यक्ष मानन्धरले उद्योग वाणिज्य संघमा आबद्ध व्यापार व्यवसायीहरुको सन्तानलाई विशेष सहुलियतमा अध्यापन गराउने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
कार्यक्रममा स्कुल व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर डाक्टर मिथिलेस झाले अन्तर्राष्टियस्तरको गुणस्तरीय शिक्षा दिन आफूहरु सफल भएको बताएका थिए । उनले आफ्नो स्कुलमा देशका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विद्यार्थी अध्ययन गरिरहेको जनाए । स्कुलका प्रिन्सिपल केशर खुलालले स्कुलमा एक हजार दुई सय जना विद्यार्थीलाई व्यावहारिक र गुणस्तरीय शिक्षा दिइरहेको जनाए । खुलालले कक्षा १ देखि ९ सम्म मासिक ४३ हजार ७ सयदेखि ४८ हजारसम्ममा आवासीय शिक्षा दिइरहेको बताए । भक्तपुरको गुण्डुमा रहेको यो स्कुल ठूलो क्षेत्रफलमा फैलिनुका साथै रमणीय ठाउँंमा छ ।