काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा नयाँ डाइलाइसिस मिसिन/बेडहरु थप गरिएको छ । आठवटा बेडमा सञ्चालित इन्टर्नल मेडिसिन विभागअन्तर्गतको डाइलाइसिस युनिटलाई विस्तारित गरी हाल २० बेडको बनाइएको हो । थप गरिएको १२ वटा नयाँ बेडहरुलाई क्याथल्याबको अगाडिपट्टि नयाँ भवन निर्माण गरी छुट्टै डाइलाइसिस युनिट स्थापना गरिएको छ ।
उक्त नयाँ युनिटको बिहीबार अस्पतालका निर्देशक, डिनहरु, विभागीय प्रमुखहरु, चिकित्सकहरु, विद्यार्थीहरुलगायत नर्सिङ तथा प्रशासनिक कर्मचारीहरुको उपस्थितिमा उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीले उद्घाटन गरेका हुन् । कार्यक्रममा उनले यस भेगमा बढ्दै गएका मिर्गौलाका बिरामीहरुलाई यस युनिटले थप मद्दत मिल्ने तथा यस किसिमको सेवा विस्तारमा यस युनिटले कोशेढुंगाको काम गरेको बताए । पहिले सञ्चालनमा रहेको डाइलाइसिस वार्डमा हालको आईसीयूलाई बेड संख्या वृद्धि गरी विस्तार गरिने योजना रहेको उनले सुनाए । प्रतिष्ठानमा मासिक एक हजारको हाराहारीमा डाइलाइसिस हुने गरेको छ । जम्मा आठवटा मेसिनले यति धेरै संख्यामा डाइलाइसिस गर्नु ज्यादै कठिनाइको विषय थियो । सँगसँगै डाइलाइसिस गर्न पालो नपाएर पर्खिनेको संख्या पनि ५० भन्दा ज्यादा हुने गरेको छ । यस्तो परिस्थितिलाई थप जडान गरिएको नयाँ मेसिनले केही हदसम्म सहज बनाउने विश्वास गरिएको छ ।
सन् १९९९ मा तत्कालीन उपकुलपति डा. शेखर कोइरालाको कार्यकालमा प्राडा ओपी काल्राको पहलमा मेडिसिन विभागका डा. सञ्जीव कुमार शर्मालगायत नर्सहरु बेङ्गमु तामाङ, शोभा गुरुङ र पुनम काप्mलेलाई वीर अस्पताल, काठमाडौंमा दुई महिने डाइलाइसिसको तालिममा पठाइएको थियो । उनीहरुको तालिमपश्चात् उपत्यकाभन्दा बाहिर पहिलोपटक प्रतिष्ठानमा दुईवटा बेडबाट डाइलाइसिस सेवा सुरु गरिएको थियो । उक्त दुई बेडले धान्न गाह्रो भएपश्चात् बिरामी आफैँले घरमै पनि गर्नसक्ने पेटबाट गर्ने निरन्तर एम्बुलेटरी पेरिटोनियल डायलाइसिस (क्याप्ड) विधिको नेपालमै पहिलोपटक सफलतापूर्वक सुरुवात डा. सञ्जीव कुमार शर्माले गरेका थिए । यसअघि सन् १९९२ मा उपत्यकामा पहिलोपटक क्याप्ड विधिको सुरुवात गर्नु खोजिए पनि सफलता हात परेको थिएन । सन् २००२ बाट प्रतिष्ठानमा सुरु भएको क्याप्ड विधि सन् २००७ सम्म नेपालभर प्रतिष्ठानबाहेक अन्य कतै गरिँदैन थियो ।
सन् २००४ मा डा. सञ्जीव कुमार शर्माको विशेष पहलमा बेलायतको रोयल लण्डन अस्पतालले ११ थान डाइलाइसिस मेसिन सहयोग स्वरुप उपलब्ध गराएको थियो । उक्त मेसिनहरु कतार एयरवेजले काठमाडौंसम्म निःशुल्क ढुवानी गरिदिएको थियो । तत्पश्चात् मेडिसिन विभागअन्तर्गतको डाइलाइसिस युनिट स्थापना गरिएको थियो । हाल जडान भएका डाइलाइसिस मेसिनहरु प्राविधिक रुपले उन्नत रहेका, बिरामीहरुलाई सहज हुने प्रकारका, सञ्चालन गर्न सरल किसिमका भएकोबारे इन्टर्नल मेडिसिन विभागका प्रमुख डा. रबिन मास्केले बताए ।