बेइजिङ । चीनमा ठूलो व्यावसायिक भवन भत्किँदा दर्जनौँ मानिस भवन भित्रै च्यापिएका छन् । देशको हुनान प्रान्तमा पर्ने चाङशा सहरमा रहेको भवन भत्किएको र कम्तीमा २३ जना च्यापिएको अधिकारीहरूले जनाएका छन् ।
भत्किएको आठतले भवनमा होटल, अर्पाटमेन्ट, सिनेमा हललगायत रहेका थिए । च्यापिएको ठाउँबाट मानिसहरूलाई निकाल्ने प्रयास भइरहेको चाङशा नगरका मेयर झेङ जियाङछीनले जानकारी दिए ।
‘भत्किएको भवनभित्र च्यापिएका व्यक्तिहरूलाई निकाल्नका लागि उद्धारकर्मीहरूले अथक मिहिनेत गर्नुभएको छ’, मेयर जियाङ्छीले भने । च्यापिएको ठाउँबाट पाँच जनालाई उद्धार गरिसकिएको र अहिलेसम्म मृत अवस्थाको कोही नभेटिएको पनि उहाँले जानकारी दिए ।
‘अहिलेसम्म मृत्यु भएको कोही भेटिएको छैन, पाँच जनालाई जीवितै उद्धार गरिएको छ, आशा गरौँ अरु च्यापिएकोलाई पनि जीवितै उद्धार गर्न सकिनेछ’, उनले भने । रासस/एएफपी