काठमाडौं । पठाओले वर्षभरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गरेको छ । २०७८ सालभर उत्कृष्ट सेवा प्रदायकहरुलाई सम्मान गरिएको पठाओ नेपालका निर्देशक यशु थकालीले बताए ।
कार्यक्रममा कलाकार दिपकराज गिरी र दिपाश्री निरौलाले अवार्डेड राइडर, क्याप्टेन र फुडम्यानलाई ट्रफी, सम्मान पत्र र गिफ्ट ह्याम्पर प्रदान गरेका थिए । एभरेस्ट इन्स्योरेन्सको तर्फबाट अवार्ड पाउने ३५ जनालाई राइड नभएको समयमा समेत लागू हुने गरी एक लाखबराबरको मेडिकल इन्स्योरेन्स प्रदान गरिएको छ । पठाओलाई नेपालकै उत्कृष्ट राइड सेयरिङ प्लेटफर्म र फास्टेस ग्रोइङ कम्पनी बनाउन योगदान दिने राइडर, क्याप्टेन र फुडमेनहरुलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको थकालीले बताए । आफ्नो सुरक्षित र सुनिश्चित यात्राको साथी पठाओ रहेको कलाकार दिपाश्री निरौलाले बताइन् ।
नेपालमा परिवारसँगै बसेर केही गरौँ भन्नेलाई पठाओले राम्रो अवसर सिर्जना गरेको कलाकार दिपकराज गिरीले बताए । पठाओमा पाएको टिप्स जम्मा गरेर कुकुर तिहारको दिन काठमाडौंका सडकमा भेटिएका बेवारिसे सय बढी कुकुरहरुलाई खाना खुवाएका द हेल्पिङ ह्यान्ड अवार्ड विजेता रोनिस खड्गी सबैले कोशिश गरे समाज उत्कृष्ट हुने धारणा राखे ।
२५ सेप्टेम्बर २०१८ मा बाइकमा राइड सेयरिङमार्फत पठाओ नेपालले सेवा सुरू गरेको थियो । ९ अगस्ट २०१९ मा कार लाइट अर्थात् ट्याक्सी सेवा सुरु गरेको पठाओले राइड सेयरिङ सुरू गरेको दुई वर्षपछि २५ सेप्टेम्बर २०२० देखि होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै ’पठाओ फुड’सञ्चालनमा ल्याएको छ ।