कोलम्बो । देशमा देखिएको आर्थिक संकटका विरुद्धमा एकजुट हुन श्रीलंकाका राष्ट्रपतिले सबैलाई अपिल गरेका छन् । राष्ट्रपति गोताबाय राजापाक्षेले मुलुकको संकट सबैको साझा संकट भएकाले सबैले संयुक्त प्रयासबाट समाधान गर्नुपर्नेमा जोड दिएका हुन् । विश्व श्रमिक दिवसको अवसरमा सन्देश प्रकाशित गर्दै उनले आर्थिक संकट समाधान नहुँदासम्म श्रमिकहरूको हक अधिकार पनि सुनिश्चित गर्न नसकिने भएकाले पहिला मुलुकको आर्थिक संकट समाधान गर्नुपर्नेमा जोड दिए ।
मुलुकमा आइपर्ने कुनै पनि ठूला समस्याहरूको समाधान कुनै व्यक्ति वा संस्थाले मात्रै समाधान गर्न नसक्ने भएकाले सबै एकजुट हुनुपर्ने उनको भनाइ छ । श्रीलंकामा देखिएको आर्थिक संकट समाधानको नेतृत्व लिन सरकार तयार रहेको र त्यस सबै पक्षको पर्याप्त साथ चाहिने उनले बताए ।
राष्ट्रपति राजापाक्षेले मुलुकको संकट समाधानका लागि सरकारसँगै मुख्य रुपमा दलहरू पनि जिम्मेबार र प्रतिबद्ध हुनुपर्नेमा जोड दिए । श्रीलंकामा पछिल्लो समय आर्थिक र राजनीतिक संकट उत्पन्न भएको छ । आर्थिक संकटका कारण बस्तु तथा सेवाको अभाव हुने र अत्यधिक मूल्य वृद्धि भएपछि राजनीतिक संकट पनि उत्पन्न भएको हो ।
वस्तु तथा सेवाको अभाव र मूल्य वृद्धिको विरुद्धमा आम नागरिक आन्दोलित भएपछि तत्कालीन सरकारका सबै मन्त्रीहरूले राजीनामा दिएपछि राजनीतिक संकट देखिएको थियो । अहिले सरकारमा अन्य नेताहरूलाई लगिएको भए पनि राजनीतिक सन्तुलन मिल्न बाँकी नै रहेको छ भने सबैलाई समेटेर संयुक्त सरकार बनाउन राष्ट्रपति राजापाक्षेले प्रयास गरिरहेका छन् ।