काठमाडौं । राजस्व अनुसन्धान विभागले गलत तरिकाले मूल्य अभिवृद्धि कर बिजक खरिद गरी राजस्व चुहावट गरेको अभियोगमा दुई व्यावसायिक फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागका अनुसार भक्तपुर सूर्यविनायक–१० देउजागाउँ स्थायी बसोबास भएका एभरेष्ट यति इन्टरनेसनलका सञ्चालक दीपकुमार देउजा र अचला थापा देउजाविरुद्ध सोमबार उच्च अदालतमा मुद्दा दायर गरिएको हो । राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त नक्कली तथा झुटा मूल्य अभिवृद्धिकर बिजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार पारी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको पाइएको विभागले जनाएको छ ।
विभागले नौ करोड ६७ लाख ३२ हजार पाँच सय ६० रूपैयाँबराबरको बदमासी गरेकोले सोहीअनुसारको मागदाबी गरी मुद्दा दायर गरेको छ । विभागका अनुसार मूल्य अभिवृद्धिकरतर्फ तीन करोड ४० लाख १८ हजार रूपैयाँ र आयकरतर्फ छ करोड २७ लाख १४ हजार पाँच सय ६० रूपैयाँबराबरको बदमासी गरेको पाइएको हो । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संशोधनसहित) को दफा २३(१) बमोजिम उनीहरूबाट बिगो असुल गरी सोही ऐनको दफा २३(१) बमोजिम कायम भएको विगोको शतप्रतिशत जरिवानाले हुनआउने १९ करोड ३४ लाख ६५ हजार एक सय २० रूपैयाँ असुल तथा दफा २३ १)(ग) बमोजिम कैद सजायको समेत माग गरी विभागले मुद्दा दायर गरेको हो ।