काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिकरूपमा नै सहयोग पु-याउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकोप्टर चार्टर गरेर वृद्धभत्ता पु-याउने कार्य सम्पन्न गरेको छ ।
नेपालको विकट स्थानमा रहेको गोरखाको चुम्नुब्री क्षेत्रमा सडकको पहुँच छैन जसका कारणले ७० वर्षभन्दा माथिका वृद्ध–वृद्धाहरूले आफ्नो वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता लिनका लागि दुईदेखि तीन दिनको बाटो हिँड्नुपर्ने कष्टलाई मध्यनजर गरेर कुमारी बैंक लिमिटेडले काठमाडौंदेखि चुम्नुब्रीसम्म हेलिकोप्टर चार्टर गरी वृद्धभत्ता पु-याउने कार्य सम्पन्न गरेको हो । यही वैशाख १५ गते कुमारी बैंकका व्यापार समन्वय विभागका प्रमुख, रोहित सिंहको नेतृत्वमा गएको तीन जनाको टोलीले वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगद पु-याउने कार्य गरेको थियोे ।
गोरखाको चुम्नुब्रीमा नै आयोजित कार्यक्रममा सिंहले भने, आफ्ना ग्राहकहरूका लागि हामीले चौर्तर्फीरूपमा सेवा–सुविधा पुगोस् भनीे सो आयोजना गरेका छौँ । आगामी दिनमा यसरी सहयोग पु-याउने कार्यक्रमलाई हामीले निरन्तरता समेत दिने कुरा जानकारी गराए । आफ्ना देशव्यापी एक सय ९७ वटा शाखासञ्जाल, एक सय ७७ वटा एटीएम, ४२ शाखारहित बैंकिङ इकाइ तथा १६ वटा एक्टेन्सन काउन्टरमार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवाविस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।