अष्ट्रेलिया । अस्ट्रेलियाली ध्वजावाहक वायुसेवा प्रदायक क्वान्टासले तीन वर्षपछि लन्डन र न्युयोर्कमा सिधा उडान गर्ने भएको छ । कम्पनीले लामो दूरीमा रहेका उक्त दुई गन्तव्यमा सिधा उडान गर्ने घोषणा गरेको हो ।
यसका लागि कम्पनीले एयरबस ए३५०–१००० नयाँ जेटहरु खरिद गरेको जनाएको छ । उक्त जेटले तोकिएका गन्तव्यमा उडान गर्न सक्ने बताइएको छ । कम्पनीका अनुसार सिड्नीबाट लन्डनको पहिलो उडान सन् २०२५ को अन्त्यतिरबाट सुरु हुनेछ । उक्त उडानका लागि २० घण्टा लाग्नेछ । यदि यो उडान सम्पन्न भए यो नै विश्वको लामो उडान समेत हुनेछ । यो रुट सन् १९४७ मै राखिएको थियो । तर सातपटकको विश्रामसँगै ५८ घण्टामा मात्र यो रुटमा उडान सम्पन्न भएको थियो ।
कम्पनीले यसका लागि काम गर्दै आएको छ । तर कोरोना महामारीका कारण यसको कार्यान्वयन समय भने ढिला हुँदै आएको छ । सन् २०१८ मा कम्पनीले पश्चिम अस्ट्रेलियाको पर्थबाट लन्डनसम्मको सिधा उडान सुरु गरेको थियो । सन् २०१९ मा कम्पनीले बेलायतको पूर्वी तटबाट न्युयोर्कको शृंखलाबद्ध परीक्षण उडान पनि गरेको थियो ।
नयाँ विमानहरु सन् २०२५ मा आउन सुरु हुनेछन् भने सन् २०२८ सम्म आइसक्नेछन् । तर कम्पनीले उडानमा सहभागी हुनेले तिर्नुपर्ने रकमबारे भने खुलाएको छैन । कम्पनीका फर्स्ट, बिजनेस, प्रिमियम इकोनोमी र इकोनोमी गरी चारवटा सिट वर्ग रहेका छन् । हरेक विमानले दुई सय ३८ यात्रु बोक्नेछन् । क्याबिनको ४० प्रतिशत प्रिमियम सिटिङलाई छुट्याइनेछ । सिटहरु सामान्यभन्दा कोठाजस्तो हुने कम्पनीले जनाएको छ ।