दोलखा। दोलखाका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले यही ३० गते हुने स्थानीय तहको निर्वाचन दोलखामा स्वतन्त्र, मर्यादित र निष्पक्ष ढंगले भयरहितरूपमा सम्पन्न हुने बताएका छन् । मंगलबार जिल्लाका राजनीति दल, नौवटै पालिकाका निर्वाचन अधिकृतहरूको उपस्थितिमा सप्पन्न निर्वाचन आचारसंहितासम्बन्धी सर्वदलीय छलफलमा उनले गत वर्षहरूमा जस्तो नकारात्मक सन्देश दिने निर्वाचन यो पटक नहुने बताए ।
न्यौपानेले राजनीतिक दलहरूलाई निर्वाचन आयोगले जारी गरेको स्थानीय निर्वाचनको आचारसंहिता पूर्णरूपमा पालना गरेर आयोगलाई सहयोग गर्न पनि आग्रह गरे । यस्तै न्यौपानेले आयोगले राजनीतिक दलहरूलाई आचारसंहिताविपरीतको प्रचार सामग्री तत्काल हटाउन लगाउने समेत बताए ।
निर्वाचन आचारसंहिता, २०७८ अनुसार सार्वजनिक भवन, उद्यान, सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचनचिह्न राख्न वा टाँस्न नहुने र कुनै पनि उम्मेदवारले आफ्नो कार्यालयबाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनावचिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्य दृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने प्रावधान रहेको छ ।
उक्त प्रावधानअनुसार चल्न दोलखाका राजनीतिक दललाई उनले निर्देशन दिए । त्यसैगरी उनले दोलखा यसअघिको निर्वाचनमा हुने गरेका बुथ कब्जा, झै–झगडा, मदिरा बेचबिखनलगायतका कार्य रोकेर दोलखाका नगरिकनलाई स्वतन्त्र रूपमा मतदान गर्ने वातावरण बनाउन सबै राजनीतिक दललाई आफ्नो तर्फबाट भूमिका खेल्न आग्रह गरे ।
छलफलमा दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जिल्लाको सुरक्षा व्यवस्थालाई कडा पारिएको बताए । गत निर्वाचनमा भन्दा बढी सुरक्षाकर्मी खटाएर भयरहित वातावरण मतदान गर्ने व्यवस्था मिलाउने उनको भनाइ छ । अति संवेदनशील निर्वाचन क्षेत्र र बुथमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र नेपाली सेना राखिने उनले जानकारी दिए ।
त्यस्तै उनले आगामी वैशाख २२ गतेदेखि जिल्लाभर खुला मदिरा बिक्रीवितरण र सेवनमा रोक लगाउने, जिल्लाका दुईवटा सीमा नाकाबाट निर्वाचन अवधिभर बाहिरी जिल्लाका नागरिकलाई प्रवेश गर्न नदिने बताए । त्यसैगरी राजनीतिक दलहरूले मतदाता परिचयपत्र हराएका मतदातालाई पनि नेपाली नागरिकको परिचयपत्रका आधारमा मतदान गर्ने वातावरण बनाउन निर्वाचन आयोग र कार्यालयलाई अनुरोध गरेका छन् । छलफलमा जिल्लाका सक्रिय पाँचवटा राजनीतिक दलका प्रतिनिधि, पत्रकार र सबै पालिकामा खटिएका निर्वाचन अधिकृतहरूको सहभागिता थियो ।