काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिएका उम्मेदवारलाई आफ्नो खर्च बैंक खाताबाट सञ्चालन गर्न निर्देशन दिएको छ । आयोगका अनुसार निर्वाचन आयोग ऐन, २०७३ ले निर्वाचन खर्चसम्बन्धी व्यवस्था गरेको छ ।
आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७८ मा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोली गर्नुपर्ने व्यवस्था छ । उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा उसको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्नेछ । यसरी तोकिएका पदाधिकारीको नाम नामेसीसहितको विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने आयोगले जनाएको छ ।
राजनीतिक दलले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक खातामार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्च गर्नुपर्ने र २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ । व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिई उम्मेदवारको वा राजनीतिक दलको बैंक खातामा जम्मा गर्नुपर्ने, खर्चको विवरण तथा बिल भरपाई राख्नुपर्ने, आम्दानी तथा खर्चको विवरण प्रचलित कानुनबमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनुपर्ने आयोगले जनाएको छ ।
यस्तै आयोगले खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेस गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेस गर्नुपर्ने जनाएको छ । निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपश्चात् सार्वजनिक गरी प्रचलित निर्वाचनसम्बन्धी कानुनले तोकेको अवधिभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।
उक्त व्यवस्थाविपरीत हुनेगरी कतिपय स्थानमा कार्य भइरहेको भन्ने जानकारी प्राप्त हुन आएका भन्दै आयोगले निर्वाचनमा खर्च गर्दा निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहिता, २०७८ को व्यवस्थाबमोजिम गर्न राजनीतिक दल तथा उम्मेदवारको ध्यानाकर्षण गराएको छ । साथै सोबमोजिम गर्न तथा गराउन सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई आयोगले निर्देशन दिएको छ ।