लण्डन ।युरोपेली आयोगले एप्पलले आफ्नो बजार स्थानको दुरुपयोग गरेको आरोप लगाएको छ । आईफोन निर्माता कम्पनीले कन्ट्याक्टलेस स्मार्टफोन पेमेन्टका लागि यसको दुरुपयोग गरेको आयोगले बताएको हो ।
बीबीसीका अनुसार सुरुवाती अनुसन्धानमा अमेरिकी कम्पनीले आफ्नो ‘ट्याप एन्ड गो’ प्रविधिमा पहुँचबाट प्रतिस्पर्धी कम्पनीलाई रोकेर प्रतिस्पर्धा कानुनको उल्लंघन गरेको देखिएको आयोगले जनाएको छ ।
एप्पलले भने उक्त आरोपको खण्डन गर्दै यसबारे आयोगसँग छलफलमा बस्न तयार रहेको बताएको छ । यदि यसमा एप्पल दोषी पाइए कम्पनीको गत वर्षको आयअनुसार उसले विश्वभर गरेको ३६ अर्ब ६० करोड डलरको १० प्रतिशतसम्म जरिवाना लाग्न सक्नेछ ।
‘हामीले एप्पलले आफ्ना डिभाइसहरुमा प्रतिस्पर्धी मोबाइल वालेट सोलुसन्स विकास गर्न आवश्यक प्रविधिमा तेस्रो पार्टीको पहुँचमा कडाइ गरेको संकत पाएका छौँ’, ईयूका उपाध्यक्ष मार्गरेथ भेस्टेगरले एक वक्तव्यमा भनेकी छिन्, ‘प्रारम्भिक अनुसन्धानमा एप्पलले प्रतिस्पर्धालाई कडाइ गरेको र यसले एप्पलको आफ्नै सोलसुन एप्पल पेलाई फाइदा भएको पाएका छौँ ।’
आयोगका अनुसार यसले अन्य कम्पनीमाथि ठूलो असर पर्नसक्ने र त्यसले कम आविष्कार कम रोजाइ हुनसक्ने देखिएको छ । तर एप्पलले भने आफ्नो भुक्तानी प्रणाली युरोपेली उपभोक्ताका लागि उपलब्ध धेरैमध्ये एक रहेको स्पष्ट पारेको छ । मोबाइल भुक्तानी प्रविधिमा कम्पनीले समान पहुँच दिएको दाबी समेत गरेको छ ।
आयोगले सन् २०१५ मै एप्पल पे लन्च गर्दा प्रतिस्पर्धा विरोधी अभ्यास गरेको आरोप लगाएको छ । युरोपका २५ सयभन्दा धेरै बैंकहरुले एप्पल पे र एप्पल स्मार्टफोन प्रयोग गर्छन् । अर्को वर्ष ईयूले प्रविधि कम्पनीका लागि डिजिटल मार्केट्स एक्ट कार्यान्वयनमा ल्याउँदै छ । गत वर्ष पनि युरोपेली नियामकहरुले एप्पललाई जरिवाना तिराएका थिए ।