काठमाडौं । बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने ४७ वर्षीय विकु बहादुर सुवाललाई बुधबार सीआईबीले पक्राउ गरेको हो ।
सीआईबीका अनुसार उच्च अदालत पाटनको २०७८ फागुन ३० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा छ दिन कैद र २४ लाख ५९ हजार आठ सय २२ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई सीआईबी प्रहरीले भक्तपुर व्यासीबाट पक्राउ गरेको हो ।
सुवालको एनआईसी एसिया बैंक लिमिटेडमा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर पेश गरिएको छ ।