काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा रहनुभएका ग्राहकहरूलाई बैंकिङ सेवा पु-याउने उद्देश्यले बुधबारदेखि थप दुई शाखाहरूको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरूमा ८०औँ शाखाको रूपमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित कलंकी शाखा र ८१औँ शाखाको रूपमा नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नं.२, स्थित बट्टार शाखा रहेका छन् ।
बैंकको कलंकी शाखाको उद्घाटन विकास बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले गरेका छन् भने बट्टार शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र नुवाकोट उद्योग वाणिज्य सघंका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्तरूपमा गरेका हुन् । उक्त दुई शाखासहित बैंकले देशको सातवटै प्रदेशमा ८१ वटा शाखाहरूमार्फत कारोबार गर्दै आएको छ र निकट भविष्यमा कपिलवस्तुको चन्द्रौटा, बर्दियाको ताराताल, कैलालीको लम्की र मसुरिया एवं कंचनपुरको वाणी समेत गरी थप पाँच शाखा खोल्नको लागि तयारी गरेको जानकारी दिएको छ ।
बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरूसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकहरूलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिकरूपमा ब्याज प्रदान गर्ने विशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।