काठमाडौं । गत वर्ष मौसम विभागले सो वर्षको मनसुन सकिएको घोषणा गरिएको साता नपुग्दै मिति २०७८ असोज ३१ देखि कात्तिक २ गतेसम्मको लगातार बेमौसमी वर्षाले देशैभर व्यापक जनधन क्षति भएको थियो । अक्टोबर महिनामा भएको भारी वर्षा १२ वर्षयताकै उच्च थियो । उक्त वर्षाको कारणबाट महाकाली नदिमा आएको बाढीले कञ्चनपुरको भिमदत्त–१२ ओदालीस्थित निर्माणाधीन छ लेनको सडक मनोरञ्जन पार्कको निमित्त बनेका पोखरीका संरचना र चार लेनको पक्की पुलको पहुँचमार्गमा ठूलो क्षति पु-याएको थियो । उक्त परियोजनाको यस बीमा कम्पनीमा ठेकेदारको सम्पूर्ण जोखिम बीमा भएकोले मूल्यांकनकर्ता बाट मूल्यांकन भइ कायम भएको क्षति वापतको बीमा रकम आठ करोड ९७ लाख ९८ हजार रुपैयाँको चेक प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले बीमित कुमार—सी एफ इसीजेभीका प्रतिनिधि शुशील कुमार श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।
चालू आर्थिक वर्ष २०७८–०७९ को हालसम्म यस कम्पनीले सात हजार आठ सय २८ वटा दाबी फछ्र्यौट गरी एक अर्ब सात करोड ६० लाख २६ हजार नौ सय ४८ रुपैयाँ तथा अग्रीम दाबीबापत विभिन्न दाबीकर्ताहरूलाई आठ करोड भुक्तानी गरी जम्मा एक अर्ब १५ करोड ६० लाख २६ हजार नौ सय ४८ रुपैयाँ भुक्तानी गरेको छ भने फछ्र्यौट गर्न बाँकी दाबीको संख्या तीन हजार आठ सय ५७ (कोरोना दाबीबाहेक) रहेको र सोबापत भुक्तानी गर्नु पर्ने रकम एक अर्ब १६ करोड सात लाख ६२ हजार पाँच सय ९५ रुपैयाँ रहेको छ ।
छिटो छरितो दाबी फछ्यौट गर्ने कम्पनीको लक्ष्यअनुरूप बाँकी रहेका दाबी यथासिघ्र फर्छयौट गरी दाबी रकम भुक्तानी गर्न कम्पनी क्रियाशील रहेको हुदा बीमा दाबी गर्नुहुने सम्पूर्ण बीमितहरूले दाबीसँग सम्बन्धित कागजातहरू सर्भेयर वा कम्पनीमा बुझाइ दाबी फछ्र्यौट कार्यमा सहयोग गर्न समेत कम्पनीले अनुरोध गरेको छ । कम्पनीको सेवाप्रति विश्वास गरी हामीलाई सेवा प्रदान गर्ने अवसर दिने सम्पूर्ण बीमितहरूप्रति कम्पनीले आभार प्रकट गरेको जनाएको छ ।