दोलखा । यतिबेला दोलखाका गाउँदेखि सहरमा चुनावी चर्चा चुलिँदै गएका छन् । स्थानीय निर्वाचन आउन करिब एक साता मात्र बाकी छ । निर्वाचन नजिकिएसँगै मुख्य प्रतिस्पर्धामा रहेका राजनैतिक दललाई यो समय जनता पकाउन र भोट माग्न जनताको घरदेखि खेतबारीमै उम्मेदवार पुग्नथालेका छन् ।
दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखामा सहर कम र ग्रामीण बस्ती धेरै रहेकाले पनि निर्वाचनका उम्मेदवार सहरभन्दा गाउँकेन्द्रित बनेको देखिन्छन् । दुई साता अघिसम्म राजनैतिक दल र कार्यकर्ताको उपस्थितिले निकै भरिभराउ र चहलपहल देखिएको सदरमुकाम चरिकोटमा यतिबेला ती राजनैतिक दल गाउँ केन्द्रित बन्दा बजार सुनसान बन्दै गएको बताउँछन् सदरमुकाम चरीकोट स्थानीय व्यापारी गणेश बस्नेत ।
निर्वाचन आउन अब करिब एक साता मात्रै बाकी छ । यतिबेला आफ्ना उम्मेदवार र पार्टीलाई जिताउन गाडीदेखि पैदल हिँड्ने जनताको घरदैलो र खेतबारीमा राजनैतिक दलका कार्यकर्ताको लस्कर देखिन्छ । जिल्लाका धेरैजसो जनताका खेतबारी हिउँदे गहुँ काट्ने र आलु खन्ने तथा मकै गोड्ने काम सुरु भएको छ । मुख्य बाली भित्र्याउने समय सुरु भएकाले धेरै मानिस यो समय खेतबारीमै व्यस्त देखिन्छन् । गाउँघरमा मान्छे नभेटेपछि स्थानीय तहका उम्मेदवार खेत तथा बारीमै रंगीचंगी दलका झण्डा र गाडीघोडा लिएर खेतबारीमै जनता फकाउनु हात जोडेर किसानका मेलामै पुग्ने गरेको पाइन्छन् ।
पाँच वर्षसम्म जनताका खेतबारी नटेकेका उम्मेदवार खेतबारी देख्दा धेरै जनता अचम्म मानेर लागिरहेको मेलो नै छोडेर राजनैतिक दलका कुरा सुन्न आतुर देखिन्छन् भने केही जनता राजनैतिक दलका उम्मेदवारको कुरालाई चासो नदी आफ्नै काममा व्यस्त देखिन्छन् । चुनावी प्रचारप्रसार र भोट माग्न व्यस्त देखिने राजनैतिक दल र उम्मेदवारले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको समेत ख्याल नै नगरी जताततै राजनैतिक दलका झण्डा र प्रचार सामग्री रतथा लस्करै सवारी कुदिरहेको देखिन्छन् ।
निर्वाचन आयोगले एउटा राजनैतिक दललाई मत माग्नको लागि बढीमा दुईवटा सवारीको प्रयोग गर्न मिल्ने भने पनि केही राजनैतिक दलले दर्जनौँ सवारी सयौँ कार्यकर्ता लिएर गाउँ घुमिरहेका छन् भने सार्वजनिक स्थलमा विभिन्न प्रचार सामग्री टाँसिरहेको भेटिन्छ । जिल्ला निर्वाचन कार्यालय दोलखाले पटक–पटक आचारसंहितामा रहेर मात्र चुनावी प्रचार गर्ने उर्दी जारी गरेपछि जिल्लाका सक्रिय राजनैतिक दलले त्यसो नगरेको देखिन्छ । यो समय दोलखाको सदरमुकाममा बिहानदेखि बेलुकासम्म पार्टी विभिन्न गीत र नारा घन्किरहेको सुनिन्छ । बजारका होटलदेखि भट्टी पसलसम्म राजनीति कुरा मात्र सुनिन्छ ।
सहरमा राजनीति गतिविधि बढ्नु स्वाभाविक हो । तर चुनाव आउन केही दिन मात्रै बाँकी रहेकाले पनि यो समय उम्मेदवारलाई सहरदेखि गाउँमा मत माग्न भ्याइनभ्याइ भएको हो । पछिल्लो समय जिल्लाका गाउँघरमा चुनावी माहोल तातेको छ । जिल्लामा सक्रिय रूपमा रहेका मुख्य पाँच दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, एकीकृत समाजवादी र राप्रपाले चुनावी राजनैतिक गतिविधि बढाएका हुन् । दुई नगरपालिका र साता गाउँपालिका रहेको यस जिल्लाका विभिन्न राजनैतिक दलको तर्फबाट र स्वतन्त्र रूपमा उम्मेदवार दिनेको संख्या १३ सय ३९ जना रहेको मुख्य निर्वाचन कार्यालय दोलखा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताए ।
उम्मेदवारहरुको नाम लिस्ट समेत सार्वजनिक गरेर आयोगले राजनैतिक दलमा आबद्ध र स्वतन्त्रतर्फका उम्मेदवारलाई चुनाव चिह्न समेत दिसकेकाले चुनावी माहोल तात्नु स्वाभाविक भएको उनले बताए । निर्वाचन आयोग अहिले मतदान अधिकृत र कर्मचारी तथा सुरक्षालाई व्यवस्थित बनाउने काममा व्यस्त रहेको उनले जानकारी दिए । स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुँदै छ । जिल्ला निर्वाचन कार्यालय दोलखाले पालिका–पालिकामै निर्वाचन अधिकृतको कार्यालय राखेर निर्वाचनसम्बन्धी कामलाई प्राथमिकताका साथ गरिरहेको तथा बुथमा खट्ने कर्मचारीलाई तालिम दिरहेको मुख्य अधिकृत न्यौपानेको भनाइ छ । (आर्थिक दैनिकबाट)