काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच विभिन्न सौर्य मिनी ग्रीड परियोजनाहरूमा निर्माण सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौताअनुसार नेपाल सरकार तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच प्राइभेट सेक्टर लिड मिनी ग्रिड इनर्जी एक्सीसी प्रोजेक्ट सम्बन्धमा सम्पन्न भएको सहायक ऋण सम्झौताबमोजिम आयोजना कार्यान्वयनको लागि केन्द्रले बैंकलाई रकम उपलब्ध गराउनेछ । उक्त रकम ग्लोबल आईएमई बैंकले एक केडब्लूपी सौर्य मिनी ग्रिड परियोजना निर्माण/जडान तथा विद्युत् वितरण कार्यको लागि ऋणको रूपमा उपलब्ध गराउनेछ ।
बुधबार भएको उक्त समझदारीपत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले ऋण सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका नायब कार्यकारी निर्देशक नवराज ढकाल तथा अन्य पदाधिकारी एवं बैंकका अन्य उच्च पदस्त कर्मचारीहरूको उपस्थिति रहेका थियो ।
बैंकले यस्ता किसिमका परियोजनाहरूमा लगानी गर्नुका साथसाथै साना तथा मझौला व्यवसायलाई प्रवर्द्धन गर्न विभिन्न वित्तीय सुविधाहरू प्रदान गर्दै व्यवसाय वृद्धिको लागि सहयोग गर्ने लक्ष्यअनुसार यस सम्भौताअन्तर्गत देशको दूरदराजमा सञ्चालन हुने साना परियोजनाहरू विभिन्न बैंकिङ सुविधा प्रदान गर्नेछ । बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७६ जिल्लामा बैंकको दुई सय ८८ वटा शाखा, दुई सय ५२ वटा एटीएम काउन्टर, दुई सय ७५ वटा शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब आठ सय ७० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।