काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकहरूलाई महाराजगन्जस्थित महाराजगन्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा विभिन्न रोगसम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाडौं प्याथल्याब एन्ड डायग्नोस्टिक सेन्टरमा ल्याब टेस्ट गर्दा २५ प्रतिशत छुट उपलब्ध हुनेगरी बैंक, क्लिनिक र सेन्टरबीच समझदारी भएको छ । सोसम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट बैंकका लाइफ स्टाइल युनिभर्स प्रमुख विमल लम्साल तथा क्लिनिक एवं सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरे ।
समझदारीअनुसार बैंकका ग्राहकहरूले सेवा लिएबापत डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने व्यवस्था गरिएको हो । बैंकका ग्राहकहरूले क्लिनिकबाट रक्तअल्पता, फोक्सो एवं श्वास–प्रश्वास, उच्च रक्तचाप, दम, बाथ, मुटुलगायतमा विशेषज्ञ सेवाहरू तथा सेन्टरबाट हेमाटोलोजी, माइक्रोबायोलोजी, हिस्टोप्याथोलोजी, एमिनो एसीलगायतका परीक्षणहरू गर्नसक्ने व्यवस्था गरिएको छ ।
बैंकले हाल मुलुकभर रहेका तीन सय ५९ वटा शाखा कार्यालयहरू, चार सय ७३ वटा एटीएम, एक सय दुईवटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुनपुगेको बैंकले जनाएको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेरसमूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब तीन अर्ब १६ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।