काबुल । अफगानिस्तानको उत्तरी बाघलान र पश्चिमी बाघिस प्रान्तका केही भागमा बुधबार आएको बाढीमा परी आठ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १३ जना घाइते भएका छन् ।
उत्तरी बाघलान प्रान्तको दहनाघोरी जिल्लामा बुधबार राति आएको अविरल वर्षा र आँधीका कारण कैयौं गाउँमा आएको बाढीमा परी चार जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् ।
बाढीले करिब नौ सय घरलाई पनि नराम्ररी क्षति पु-याएको वा बगाएको अधिकारीले बताएका छन् । बुधबार राति आएको बाढीका कारण करिब नौ हजार एकड खेतबारीमा क्षति पुगेको अधिकारीले जानकारी दिए ।
त्यसैगरी, बुधबार पश्चिमी बाघिस प्रान्तको कादिस र घोरमाच जिल्लाहरूमा भीषण बाढीले दुई बालबालिकासहित चार जनाको ज्यान गएको र पाँच जना घाइते भएको प्रान्तीय प्रशासनका अधिकारी मौलावी बरिदाद साबिरीले जानकारी दिएका छन् । रासस/सिन्ह्वा