लण्डन । ऊर्जासम्बन्धी कम्पनी शेलको त्रैमासिक नाफा अहिलेसम्मकै उच्च भएको छ । तेल र ग्यासको मूल्य आकाशिएपछि कम्पनीको नाफा ह्वात्तै बढेको हो । शेलले यो वर्षको पहिलो तीन महिनामा नौ अर्ब १३ करोड अमेरिकी डलर मुनाफा कमाएको हो । एक वर्षअघिको उही समयभन्दा यो झण्डै तेब्बर वृद्धि हो । एक वर्षअघि कम्पनीले तीन अर्ब २० करोड अमेरिकी डलर नाफा कमाएको थियो ।
तर युक्रेनमाथिको आक्रमणलाई लिएर रुसबाट बाहिरिँदा भने कम्पनीले तीन अर्ब ९० करोड डलर घाटा लागेको जनाएको छ । मंगलबार अर्को कम्पनी बीपीले पनि नाफा ह्वात्तै बढेको प्रतिवेदन सार्वजनिक गरेको थियो । रुसले युक्रेनमाथि आक्रमण गरेपछि तेल र ग्यासको मूल्य आकाशिएको छ । रुस विश्वकै मुख्य तेल र ग्यास निर्यातकर्ता हो । तर पश्चिमा देशहरुले रुससँगको तेल र ग्यासमा निर्भरता कटौती गर्ने प्रतिबद्धता जनाएका छन् ।
युक्रेनमाथि रुसले आक्रमण गर्नुअघि नै तेलको मूल्य बढिरहेको थियो । कोरोना महामारीपछि अर्थतन्त्र ब्युँतिँदै गर्दा त्यसको प्रभाव इन्धनको मूल्यमा देखिएको थियो । शेलका प्रमुख कार्यकारी बेन भान ब्युर्डेनले युक्रेन संकटसँगै विश्व ऊर्जा आपूर्ति शृंखलामा असर परेको बताए ।
शेलका प्रतिस्पर्धी कम्पनीहरु बीपी, टोटलइनर्जिजहरुले पनि नाफा बढेको बताएका छन् । नर्वेको इक्विनरले बुधबार कीर्तिमानी आम्दानी भएको विवरण सार्वजनिक गरेको छ ।