काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै कन्सलटेन्सीले ठगी गरिरहेको भेटिएको छ । आकर्षक रोजगारीको प्रलोभन देखाउँदै सर्वसाधारणबाट ठूलो रकम असुल गरेको भेटिएपछि वैदेशिक रोजगार विभागले त्यस्ता कन्सलटेन्सीविरुद्ध मुद्दा दायर गर्न थालेको छ ।
विभागले पछिल्ला दुई दिनमा सात करोड १६ लाख आठ हजार आठ सय रुपैयाँ बिगो मागदाबी गर्दै ठगीमा संलग्न विभिन्न कन्सलटेन्सी सञ्चालकविरुद्ध वैदेशिक रोजगार न्याधीकरणमा मुद्दा दायर गरेको हो । उनीहरूले वैदेशिक रोजगारीका लागि क्यानडा, पोर्चुगल, स्पेन, फ्रान्सहित युरोपका मुलुक तथा माल्टामा पठाउने भन्दै ठगी गरेका विभागले जनाएको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं १ बस्ने ३१ वर्षीय सदीक्षा गुरुङ र खिनशोभा गुरुङले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै कुमार गुरुङसँग ४१ लाख ४२ हजार पाँच सय ठगी गरेका थिए । विभागले गत चैत २४ गते सदीक्षालाई पक्राउ गरेको थियो । सदीक्षा र खिनशोभा आमाछोरी रहेको अनुसन्धानबाट खुलेको छ ।
विभागले उनीहरूविरुद्ध ठगी गरेको बिगो ४१ लाख ४२ हजार पाँच सय र हर्जनास्वरूप २० लाख ९१ हजार दुई सय ५० गरी ६२ लाख ७३ हजार सात सय ५० रुपैयाँ असुलउपर गर्न र सात वर्ष कैदको मागदाबी गर्दै मुद्दा दायर गरेको हो । यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रहेको इन्टरनेसनल एक्स्पो एन्ड ट्राभल सर्भिस प्रालिका सञ्चालक राधा सुवेदीलगायत आठ जनाविरुद्ध ठगी गरेको एक करोड ६४ लाख आठ हजार, सोको हर्जना ८२ लाख चार हजारसहित जम्मा दुई करोड ४६ लाख १२ हजार मागदाबी गर्दै न्यायाधीकरणमा मुद्दा दायर गरिएको विभागका निर्देशक कृष्णप्रसाद भुसालले जानकारी दिए । उनीहरूले माल्टालगायत युरोपका मुलुकमा वैदेशिक रोजगारीमा लैजाने भन्दै एक सय २२ जनासँग प्रतिव्यक्ति दुई लाख ३५ हजार ठगी गरेका थिए ।
युरोपका विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा लैजाने भन्दै सर्वसाधारणबाट प्रतिव्यक्ति १७ लाख ९२ हजारका दरले ठगी गरेको अभियोगमा विभागले जिनियस इजुकेसन एन्ड कन्सलटेन्सी सर्भिस प्रालिका सञ्चालक सुजन भट्टराईलगायतविरुद्ध पनि मुद्दा दायर गरेको छ । निजले ठगी गरेको भन्दै विभागमा उजुरी परेपछि अनुसन्धानका क्रममा गत चैत २८ गते भट्टराईलाई विभागले पक्राउ गरेको थियो ।
विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श दिने उद्देश्य राखी दर्ता भएको उक्त कन्सलटेन्सीले अशोक चौधरीसमेत २२ जनाबाट दुई करोड ८८ लाख ४१ हजार सात सय ठगी गरेको विभागले पुष्टि गरेको छ । विभागले सञ्चालक भट्टराईसहित मेखबहादुर गुरुङ र सुनिल लम्सालविरुद्ध चार करोड सात लाख २३ हजार ५० मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।
विभागबाट स्वीकृति नलिई कुनै पनि संस्थाले वैदेशिक रोजगारीसम्बन्धी काम गर्न पाउँदैनन् । विनास्वीकृति काम गरे वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ बमोजिम लिएको रकमसहित ५० प्रतिशत हर्जना तिर्नुपर्ने व्यवस्था छ । यस्तै तीनदेखि पाँच लाखसम्म जरिवाना र तीनदेखि सात वर्षसम्मको कैद सजाय पनि व्यहोर्नुपर्नेछ ।
पछिल्ला समय कन्सलटेन्सीले वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको भनी उजुरी दिनेको संख्या दिनहुँ बढिरहेको विभागले जनाएको छ । कन्सलटेन्सीमार्फत वैदेशिक रोजगारीका धन्दा चलाउनेले अनुसन्धानमा बाधा पुग्ने गरी कारोबार गर्नेगरेका अनुसन्धानबाट खुलेका छन् । कन्सलटेन्सीले रकमको कारोबार नगदमा गर्ने, संस्थामा कार्यरत कर्मचारीको बैंक खातामा जम्मा गर्न लगाउने, गैरकानुनी असुलीको प्रमाण नष्ट गर्ने उद्देश्यले कारोबार लुकाउने, नक्कली कर्मचारी र शाखा खडा गर्ने तथा ठगीमा संलग्न सञ्चालक फरार हुने वा विदेशमा बस्ने गरेको पाइएको छ । सञ्चालक फरार रहँदा रकम बुझ्ने कर्मचारी पक्राउ पर्नेगरेका छन् । विभागले गैरकानुनी कारोबारमा संलग्न नहुन कन्सलटेन्सीका कर्मचारीलाई समेत सचेत गराएको छ । रासस