काठमाडौं । पाँचदलीय गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर र उपमेयरमा साझा उम्मेदवारहरूलाई जिताउने संकल्प गरेका छन् । शनिबार वीरगञ्जमा गठबन्धनको पाँचै दलका १ देखि ३२ वटै वडाका वडा अध्यक्षहरूसहित जिल्लाका शीर्ष नेताहरू सम्मिलित बैठकमा वडा अध्यक्षहरूले गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंह र इम्तीयाज आलमलाई जिताउने संकल्प लिएका हुन् ।
गठबन्धन आबद्ध दलहरू एक–अर्काप्रति इमान्दार नरहेको भन्ने सुनियोजित हल्ला चलिरहेको बेला गठबन्धनका वडा अध्यक्षहरूले वडामा मित्रवत् प्रतिस्पर्धा गर्दै मेयर र उपमेयरमा साझा उम्मेदवारलाई जिताउने संकल्प लिएपछि विपक्षी दलहरूमा खैलाबैला मच्चिएको छ । वडामा आफ्नो प्यानलको लागि र मेयर उपमेयरमा गठबन्धनको साझा उम्मेदवारलाई मत माग्ने प्रतिबद्धता जनाइएको कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले गठबन्धनका कारण एमालेको हैकम प्रवृत्तिले घुँडा टेकेको र बहुमतको सरकारसहित प्रदेशको सरकारबाट पनी हात धुनु परेको बताए । गठबन्धनकै कारण अधिनायकवाद ढलेर वर्तमान सरकारको गठन भएकाले अलिकति पनि बेइमानी नगर्न वडा अध्यक्षहरूलाई आग्रह गरे । ‘तपाईँहरूलाई पार्टीले उम्मेदवार बनाएको हो, त्यही पार्टीको केन्द्रीय समितिले गठबन्धनलाई जिताउने निर्णय गरेको छ । त्यसमा दायाँबायाँ नगर्नुहोला,’ रिजालले निर्देशन दिँदै भने, ‘कांग्रेस बेइमान हो भन्ने आरोप नलागोस् ।’
त्यस्तै कांग्रेस नेता तथा पूर्वमन्त्री अजय चौरसीयाले गठबन्धनको धर्म इमान्दारसाथ पालना गर्न निर्देशन दिए । ‘विपक्षी गठबन्धनको उम्मेदवार विजय सरावगीको मेरिट के हो ?’ चौरसियाले प्रश्न गर्दै भने, ‘उसले विकास, निकास र नैतिकताको कुरा छाडेर पैसाको कुरामा मात्रै लागेको छ’, त्यसकारण पनि गठबन्धनको उम्मेदवारलाई जिताउन जरुरी छ । त्यस्तै कांग्रेस नेता एवं पूर्वमन्त्री सुरेन्द्र चौधरीले आउँदा दिनमा नेपाली राजनीतिमा गठबन्धन अनिवार्य सर्त बनेकोले इमान्दारीसाथ पालना गर्न नेता कार्यकर्तालाई अनुरोध गरे ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद प्रदीप यादवले यो लडाइँ विजय सरावगी र राजेशमान सिंह तथा इम्तीयाज आलमको नभई अधिनायकवाद र शान्ति र संविधानबीचको लडाइँ भएको बताए । ‘गठबन्धन हार्नु भनेको शान्ति र संविधान पक्षधरहरू हार्नु हो । त्यस कारण गठबन्धनमा कसैले पनि दायाँबायाँ नगर्नुस्, जसले गरेको थाहा पाइन्छ उसलाई तत्कालै कारबाही हुन्छ’, यादवले भने । वीरगञ्ज महानगरमा मात्रै नभएर पर्साको अन्य १३ वटा पालिकामा पनि अन्तिम अवस्थामा समेत गठबन्धनकै उम्मेदवारलाई विजयी बनाउने बताए । ‘हाम्रो बीचमा आपसी प्रतिस्पर्धा देखियो भने बरु हामी हारेर भए पनि गठबन्धनकै उम्मेदवारलाई जिताउँछौँ तर एमालेलाई पर्सा जिल्लामा कतै पनि आउन दिँदैनौँ’, यादवले भने ।
बैठकमा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, जसपा पर्सा अध्यक्ष रामनरेश यादव, नेकपा एसका पर्सा अध्यक्ष बालगोपाल थापा, नेकपा माओवादी केन्द्रका पर्सा अध्यक्ष राम दरश प्रसाद कुशवाहा, संविधानसभा सदस्य अनिल रुङ्गटा, मधेश प्रदेशका खानेपानी मन्त्री ओमप्रकाश शर्मा, गठबन्धनका मेयर र उपमेयर पदका साझा उम्मेदवार राजेशमान सिंह र इम्तीयाज आलम नेताहरू श्याम पोखरेल, मनोज चौधरीलगायतको सहभागिता रहेको थियो ।