विराटनगर । गत माघ महिनादेखि बन्द रहेको भारतको जोगबनी नाकाको मिरगञ्ज पुल आगामी जेठ महिनादेखि सञ्चालनमा आउने भएको जानकारी भारतीय पक्षले गराएको छ ।
गत माघ महिनाको पहिलो हप्तादेखि भासिएर सञ्चालन हुन नसक्ने अवस्थामा पुगेपछि भारतले एकतर्फी रूपमा बन्द गराएको थियो । करिब छ महिनादेखि मर्मतकार्य भइरहेकोमा गत शुक्रबार भारतको अररिया जिल्लाका डीएम प्रशान्त कुमार सीएचले पुल निरीक्षण गरी आगामी जुन ३० देखि सञ्चालनमा ल्याउने भनी सार्वजनिक गरेका छन् । अररिया जिल्लाका एसपी अशोक कुमार सिंग, फरविसगञ्ज एसडीओ सुरेन्द्र कुमार अलवेला र जोगवनी नगरपरिषद् पदाधिकारी सुसिल कुमारको संयुक्त टोलीबाट पुलको निरीक्षणपश्चात् जुन ३० देखि मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याउने जानकारी दिएको थियो । उक्त पुल भासिएका कारण नेपालतर्फ औद्योगिक कच्चापदार्थदेखि आवश्यक सामान आयात–निर्यात गर्न विराटनगर भन्सारनाका नै ठप्पजस्तै बनेका कारण छ महिनादेखि लक्ष्यअनुसारको राजस्व संकलन गर्न विराटनगर भन्सार कार्यालयले पनि सकेको थिएन ।
विराटनगर भन्सारको राजस्व संकलनमा भारतको बथनाहा नजिकै रहेको मिरगञ्ज पुल भास्सिएपछि विराटनगर भन्सार कार्यालयले संकलन गर्ने राजस्वमा समेत व्यापक कमी आएको थियो । पुलको मर्मतसँगै अब विराटनगर भन्सारले संकलन गर्ने राजस्वमा समेत पुरानैै लयमा फर्किने विश्वास गरिएको छ । मिरगञ्ज पुल भास्सिएपछि विराटनगर भन्सार कार्यालयले दैनिक चारदेखि पाँच करोड रूपैयाँ मात्र राजस्व संकलन गर्दै आएको थियो । जसले गर्दा विराटनगर भन्सारले आफ्नो लक्ष्यअनुसारको राजस्व संकलन गर्न पनि सकेको थिएन ।
भारततर्फ रहेको मिरगञ्ज पुलबाट मालवाहक गाडी आउजाउ गर्न गत पुसदेखि नै भारत सरकारले बन्द गरेपछि प्रत्यक्षरूपमा विराटनगर भन्सारको राजस्व संकलन प्रभावित बन्न पुगेको थियो । उक्त पुलको विकल्पका रूपमा भारत सरकारले सुनसरीको कोशी ब्यारेजमा रहेको सेतुबन्धु भन्सार नाकाबाट मालवाहक गाडी आउजाउ गर्न दिए पनि विराटनगर भन्सारले दैनिक चारदेखि पाँच करोडसम्म राजस्व संकलन गरेको थियो । रिरुट गरेर मालवाहक गाडी नेपाल आउनुपर्दा दैनिक तीन सयको हाराहारीमा मालवाहक गाडी आइरहेकामा पुल भास्सिएपछि एक सयको हाराहारीमा मात्र मालवाहक गाडी नेपाल आउँदा विराटनगर भन्सारको राजस्व संकलनमा प्रभाव पर्न पुगेको हो ।
त्यसरी नेपाल आउने मालवाहक गाडीले भान्टाबारी भन्सार नाका प्रयोग गर्दा एक सय १६ किमि बाटो बढी पर्ने हुँदा रिरुटबाट मालवाहक गाडी नेपाल भित्रिन समस्य भएपछि न्यून संख्यामा मालवाहक गाडी आएपछि विराटनगर भन्सारको राजस्व संकलन नै प्रभावित बनेको थियो । मिरगञ्ज पुलकै कारण देखाएर धेरै उद्योगी तथा व्यवसायीले आफ्ना मालवाहक गाडी डाइभर्ट गरी अन्यत्र लान थालेपछि भन्सार राजस्वमा ब्यापक कमी भएको थियो । पुल सञ्चालनमा हुँदा विराटनगर भन्सारले लक्ष्यको ९० प्रतिशतभन्दा बढी भन्सार राजस्व संकलन गर्दै आएको थियो । तर भारततर्फको पुल भास्सिएसँगै विराटनगर भन्सारले राजस्व संकलनको ठूलो हिस्सा गुमाउनुपरेको थियो ।