काठमाडौं । फाइनान्स कम्पनीहरुमा शून्य दशमलव ९४ देखि १५ दशमलव ७४ प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको छ । सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरुमध्ये चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका १३ वटा फाइनान्स कम्पनीहरुमा उक्त परिमाणको कर्जा निष्क्रिय देखिएको हो ।

जसमध्ये नेपाल फाइनान्समा रहेको निष्क्रिय कर्जा सबैभन्दा उच्च रहेको छ भने श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीमा रहेको निष्क्रिय कर्जा सबैभन्दा कम देखिएको छ । चालू आवको तेस्रो त्रैमासिकमा नेपाल फाइनान्समा १५ दशमलव ७४ प्रतिशत कर्जा निष्क्रिय देखिएको श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीमा यस्तो कर्जाको अनुपात शून्य दशमलव ९४ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने यी फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः २० दशमलव ५२ र शून्य दशमलव ८६ प्रतिशत रहेको थियो ।
चालू आवको पछिल्लो त्रैमासिकमा गोर्खाज, जानकी, प्रोग्रेसिभ र समृद्धि फाइनान्समा क्रमशः आठ दशमलव ४५, चार दशमलव ९८, चार दशमलव ६८ र तीन दशमलव ५९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव ७४, चार दशमलव ९८, तीन दशमलव ४७ र १६ दशमलव ५० प्रतिशत रहेको छ ।
अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको पछिल्लो त्रैमासिकमा गुडविल, सेन्ट्रल र बेष्ट फाइनान्समा पनि क्रमशः तीन दशमलव ५६, दुई दशमलव ९६ र दुई दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः दुई, तीन दशमलव ३२ र १४ दशमलव ७३ प्रतिशत रहेको थियो ।
पोखरा, गुह्येश्वरी, आईसीएफसी र मञ्जुश्री फाइनान्समा पनि चालू आवको पछिल्लो त्रैमासिकमा क्रमशः एक दशमलव ५५, एक दशमलव १५, एक दशमलव २४ र एक दशमलव ५४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने यी फाइनान्सहरुमा यस्तो कर्जाको क्रमशः एक दशमलव ४८, शून्य दशमलव २५, शून्य दशमलव ५१ र दुई दशमलव ५७ प्रतिशत रहेको थियो ।