काठमाडौं, फागुन ४
आशा लघुवित्त वित्तीय संस्थाले कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने कर्जा जोखिम तथा असुली व्यवस्थापन तालिम तथा सम्पन्न गरेको छ । संस्थाले यही माघ २६ र २७ गते बोडे भक्तपुरमा आयोजना गरेको कार्यक्रममा देशभर सञ्चालित ३० वटा शाखा कार्यालयहरुमा कार्यरत ३० जना शाखा प्रबन्धकहरुको सहभागिता रहेको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले तालिम कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै यस प्रकारका कार्यक्रमहरुले कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गरे । कार्यक्रममा कर्जा जोखिम तथा असुली व्यवस्थापनसम्बन्धी तालिम मेघराज गजुरेलले प्रशिक्षण दिएका थिए । साथै उक्त कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु विजेन्द्र चौधरी, रबिन खतिवडा, कमल खत्री तथा दिपेन्द्र खनालले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धमा प्रस्तुति गरेका थिए भने जिब्सन धामीले सूचना प्रविधिसम्बन्धी तालिम प्रदान गरेका थिए ।
नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृतिप्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘विपन्नका निम्ति आशा’ भन्ने मूलनाराका साथ ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार सुरु गरेको हो । हाल सम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरुमार्फत करीब ५२ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करिब दुई अर्ब २३ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ६५ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ ।