अमेरिका । भारतीय धनाढ्य गौतम अदानीको उदय अविश्वसनीय रुपमा भइरहेको छ । पूर्वाधार क्षेत्रका धनाढ्य केही महिनाअघि मात्रै इतिहासमै पहिलोपटक एसियाकै धनी बनेका थिए । उनको सम्पत्ति बढ्ने क्रम अझै जारी छ ।
अदानीले अहिले विश्वको पाँचौँ सर्वाधिक धनी बन्नेक्रममा चर्चित लगानीकर्ता वारेन बफेटलाई नै पछि छोडिदिएका छन् । अदानी अदानी ग्रुपका संस्थापक प्रमुख रहेका छन्। यो ग्रुपको भारतमा एउटा बन्दरगाह र छवटा सार्वजनिक कम्पनीहरु छन्, जसलाई उनी हाँकिरहेका छन् ।
यो वर्ष उनका कम्पनीहरुको सेयर १९ प्रतिशतदेखि १९५ प्रतिशतसम्मले बढेको छ । अदानीले नवीकरणीय ऊर्जा, मिडिया, विमानस्थल र अन्य धेरैको तीव्र विस्तार गरेका छन् । अप्रिलको सुरुतिर यूएईका राजकुमारका भाइले चलाएको आबुधाबीको इन्टरनेशनल होल्डिङ कम्पनीले अदानीको हरित ऊर्जाकेन्द्रित तीन कम्पनीमा दुई अर्ब अमेरिकी डलर लगानी गरेको थियो । उनी भन्ने गर्छन्, ‘म विश्वको ठूलो हरित ऊर्जा उत्पादक बन्न चाहन्छु ।’ नवीकरणीय ऊर्जा परियोजनाहरुमा ७० अर्ब डलरसम्म लगानी गर्ने उनको लक्ष्य छ ।
अदानी एक कपडा व्यापारीका छोरा हुन् । उनले सन् १९८८ मा कलेज पढ्न छोडेर वस्तु निर्यात व्यवसाय थालेका थिए । सन् २००८ सम्ममा अर्बपति बन्दै फोर्ब्सको अर्बपति वरीयतामा पहिलोपटक समावेश भए । जतिबेला उनको सम्पत्ति नौ अर्ब ३० करोड अमेरिकी डलर थियो । उनको सम्पत्ति ह्वात्तै बढ्ने क्रम भने त्यतिबेला सुरु भयो जहिलेदेखि कोरोना महामारी सुरु भएको थियो । त्यतिखेर उनले व्यवसाय विस्तारलाई जोड दिए। सन् २०२० मा उनले मुम्बई इन्टरनेशनल एयरपोर्टको ७४ प्रतिशत सेयर खरिद गरे । यो विमानस्थल भारतको दोस्रो व्यस्त विमानस्थल हो । त्यही बेला उनले भारतमा जापानी सफ्टब्यान्कको नवीकरणीय ऊर्जा युनिट साढे ३ अर्ब डलरमा किने ।
त्यसपछि गत अप्रिलमा मात्रै उनले भारतको ठूलो जलसेवा कम्पनी ओसन स्पार्कल २२ करोड डलरमा किन्ने सम्झौता गरे । दुई वर्षअघि मात्र उनको सम्पत्ति आठ अर्ब ९० करोड थियो। तर सन् २०२१ मार्चमा आइपुग्दा उनको अनुमानित सम्पत्ति साढे ५० अर्ब डलर भइसकेको थियो । सेयर मूल्य आकाशिँदा अदानीले भरपूर फाइदा उठाए । गत मार्चमा त्यो अझै दोब्बर हुनपुग्यो । परिणामतः उनी ९० अर्ब डलरका मालिक भए । अदानी ग्रुपको सेयर वृद्धि अझै रोकिएन ।
अदानीको एक सय २४ अर्ब डलर बढी सम्पत्तिले उनलाई भारतकै सर्वाधिक धनी बनाएको छ । लामो समय भारतको उच्च धनाढ्यको पदमा रहेका मुकेश अम्बानीलाई उनले पछि पारेका छन् । फोर्ब्सको शुक्रबारको अनुमानित सम्पत्ति तथ्यांक हेर्ने हो भने उनले अम्बानीलाई २५ अर्ब डलरले पछि पारेका छन् । अम्बानीको सम्पत्ति शुक्रबारसम्म ९९ अर्ब २० करोड डलर रहेको छ ।
बफेटलाई पनि उछिने
फोर्ब्सको अनुमानमा शुक्रबारसम्म अदानी एक खर्ब २४ अर्ब ७० करोड डलर सम्पत्तिका मालिक छन् । यता सोही दिनसम्म वारेन बफेटको सम्पत्ति भने एक खर्ब १५ अर्ब ९० करोड डलर छ । अदानी ५९ वर्षका र बफेट ९१ वर्षका व्यक्ति हुन् । शुक्रबार अदानीको सम्पत्ति ३.६ अर्ब डलरले बढेको थियो । सोही दिन बफेटको भने ३.१ अर्ब डलरले घटेको थियो । यसले बफेटलाई छैटौँ स्थानमा धकेल्दै अदानी विश्वकै पाँचौँ स्थानमा आफूलाई राख्न सफल भएका छन् । बफेट बर्कशाइर हाथावेका मालिक हुन् ।
अदानीको उदयले निरन्तरता पाउँदा विश्वमा उनीभन्दा केवल चार जना मात्रै धेरै सम्पत्ति भएका व्यक्तिहरु छन् । तिनमा अमेरिकी अर्बपति इलोन मस्क (२४६ अर्ब ७० करोड डलर), फ्रान्सका बर्नार्ड आर्नो र फेमिली (१४४ अर्ब ५० करोड डलर), अमेरिकाका जेफ बेजोस (१४२ अर्ब २० करोड डलर), अमेरिकाकै बिल गेट्स (१२९ अर्ब १० करोड डलर) रहेका छन् । फोर्ब्सबाट भावानुदित