काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड चौतारा शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । चौतारा साँगाचोकगढी ७, सानो सिरुवारी स्थित सिद्धिगणेश माध्यमिक विद्यालय परिसरमा भएको उक्त कार्यक्रम बैंकका
चौतारा शाखा प्रबन्धक सम्पूर्ण गिरिको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बचतको महत्व, बचत गरेको रकम बैंकमा खाता खोली जम्मा गर्नुपर्ने, ऋण लिने कारणहरू, साना ठूला जुनसुकै प्रकारको व्यवसाय गर्न बैंकबाट सहुलियत ब्याजदरमा कर्जा लिने, बीमा, पारिवारिक बजेटको महत्व, वित्तीय साक्षरतामा नेपाल राष्ट्र बैंकको योगदानका साथै धितोपत्र, सम्पत्ति शुद्धीकरण र विद्युतीय कारोबारसम्बन्धी जानकारी नेपाल राष्ट्र बैंकका भूपू कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले गराएका थिए ।
यस्तै एनसीसी बैंकका मार्केटिङ अफिसर विवेक राजकर्णिकारले बैंकको इतिहास बताउँदै वित्तीय साक्षरमा तर्फ अग्रसर बन्नुपर्ने कुरामा जोड दिएका थिए । एक सय जनाभन्दा बढीको उपस्थिति रहेको यस साक्षरता कार्यक्रममा महिलाहरू उल्लेख्य सहभागी भएका थिए । कार्यक्रममा बैंकका प्रबन्धक गिरीले अहिले चौतारा शाखाले १० हजार औषधि बीमा सुविधा २८ जना सदस्यहरूलाई उपलब्ध गराएको जानकारी दिए ।