काठमाडौं । नबिल बैंकले यूएस डिपार्टमेन्ट अफ एग्रीकल्चर (यूएसडीए) द्वारा सञ्चालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम १०२ अन्तर्गत बैंकलाई सूचीकरणका लागि यूएसडीएसँग सम्झौता गरेको छ । नबिल बैंक यूएसडीए कार्यालयबाट गरिएको उच्चस्तरीय मूल्यांकनपछि यस कार्यक्रमअन्तर्गत सूचीकृत हुने नेपालको पहिलो बैंक हो ।
यो व्यवस्थासँगै नबिलले यूएसडीएबाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्नेछ । यूएसडीए कार्यक्रमअन्तर्गत सामानहरू आयात गर्न नबिल बैंकले आफ्ना ग्राहकहरूको तर्फबाट जारी गरेको प्रतितपत्रमा तेस्रो बैंकहरूबाट प्रमाणीकरण गरिरहनुपर्ने छैन । यस व्यवस्थाअन्तर्गत अमेरिकी निर्यातकर्ताहरूले नबिल बैंकले जारी गरेको अपरिवर्तनीय प्रतितपत्रमार्फत सोझै अमेरिकी बैंकहरूबाट वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् ।
यूएसडीएको निर्यात ऋण ग्यारेन्टी कार्यक्रमअन्तर्गत नेपाल र नबिल बैंक सूचीकृत हुनु नेपाल र नबिल बैंकको अन्तर्राष्ट्रिय पहुँच र मान्यतालाई विश्वव्यापीरूपमा स्थापित गर्ने प्रयासमा अर्को कोसेढुंगा हो । सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनुकूल सेवा प्रदान गर्र्दै आएको नबिलले एक सय ४८ वटा शाखा, एक सय ८७ वटा एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रूपमा काम गर्दै आएको छ ।