काठमाडौं । संसारका दुई सय बढी मुलुकबाट डिजिटल प्रविधिमार्फत सुलभ दरमा नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको ई–सेवा मनी ट्रान्सफर र रोमानियाको प्रथम मनी ट्रान्सफर कम्पनी स्मिथ एन्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।
सम्झौतासँगै, रोमानियामा अध्ययन, काम तथा बसोबास गर्दै आएका नेपालीहरूले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई, स्मिथ एन्ड स्मिथका रोमानिया भरिरहेका कुनै पनि शाखाबाट सिधै नेपालमा सम्बन्धित व्यक्तिको बैंक खातामा पैसा पठाउन सक्नेछन् ।
साथै देशभरि ५० लाख प्रयोगकर्ताको सञ्जाल रहेको ई–सेवा वालेटमा समेत तुरुन्तै रकम पठाउन सकिन्छ । यसैगरी रोमानियाको स्मिथ एन्ड स्मिथबाट आएको रेमिट्यान्स नेपालभर रहेका ई–सेवा मनि ट्रान्सफरका १८ हजारभन्दा धेरै एजेन्ट/नेटवर्कको सञ्जालबाट समेत तुरुन्तै प्राप्त गर्न सकिनेछ ।
ई–सेवा वालेटमा रेमिट्यान्स् पठाउँदा अतिरिक्त ७७ रुपैयाँ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ । हाल ई–सेवा मनी ट्रान्सफरको ‘रेमिटोत्सव’ योजना चलिरहेको हुनाले स्मिथ एन्ड स्मिथबाट ई–सेवा मनी ट्रान्सफरमार्फत नेपाल पैसा पठाउँदा दैनिक पाँच हजाररुपैयाँ तथा बम्परमा ५० हजार रुपैयाँ समेत जित्न सकिनेछ । रेमिट्यान्स् भुक्तानी सम्झौतामा ई–सेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र स्मिथ एन्ड स्मिथबाट प्रशासक जर्जेटा पोक्नेजले हस्ताक्षर गरेका थिए ।
स्मिथ एन्ड स्मिथ, सन् १९९९ मा स्थापना भएको रोमानियाकै पहिलो मनी ट्रान्सफर कम्पनी हो भने यसलाई सन् २०११ मा रोमानियाको राष्ट्रिय बैंकले पेमेन्ट इन्स्टिट्युसनको मान्यता प्रदान गरेको थियो । ई–सेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ई–सेवा वालेट प्रयोगकर्ताहरूको र ६० भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्र्याउँदै आएको छ ।