काठमाडौँ । विदेशी दक्ष कामदारका लागि नेपाल उपयुक्त मुलुक बन्दै आएको छ । विशेष गरी सीमा जोडिएका चीन र भारतपछि विकसित मुलुकका दक्ष नागरिकहरु नेपाल आउन रुचि देखाउँछन् । अझै अमेरिकी र युरोपेली मुलुकहरुका दक्ष नागरिकहरु ती मुलुकको तुलनामा नेपालमा उपभोग्य सामग्री सस्तो भएको भन्दै यहाँ बस्न रुचाउने समेत गरेको पाइन्छ ।
नेपालमा आउने विदेशी कामदार अधिकांश दक्ष हुनुमा भने नेपाल सरकारको बाध्यकारी व्यवस्था प्रमुख कारक हो । दक्ष विदेशी कामदार मात्र नेपाल भित्रिन पाउने कानुनी व्यवस्थाका कारण दक्ष विदेशी कामदार आउने गरेका हुन् । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा सात सय ७१ जना विदेशी दक्ष कामदार काम गर्नका लागि नेपाल आएको श्रम तथा सुरक्षाजन्य विभागले जानकारी दिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा छ सय ७६ जना विदेशी दक्ष कामदार नेपाल आएका थिए । त्यस्तै, चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा श्रम स्वीकृति नवीकरण गर्ने संख्या भने आठ सय १५ रहेको छ जुन गत आर्थिक वर्षको सोही अवधिभन्दा कम हो । गत आर्थिक वर्षको नौ महिनाको अवधिमा नौ सय ७७ जनाले विदेशी कामदारले श्रम स्वीकृति नवीकरण गरेका थिए ।
चीन–भारतसहित एसिया, युरोप, अमेरिका, अफ्रिकालगायतका महादेशका मुलुकबाट दक्ष विदेशी कामदार काम गर्नका लागि नेपाल आउने गरेको विभागका अधिकारीहरुले बताए । सोही क्रममा हालसम्म आठ हजार आठ सय १८ जना (७८१८ पुरुष/१००० महिला) विदेशी दक्ष कामदार यहाँ कार्यरत छन् । नयाँ श्रम स्वीकृति लिने र नवीकरण गरेर सो संख्यामा विदेशी कामदार नेपालमा कार्यरत रहेका हुन् ।
त्यस्तै, सबैभन्दा धेरै संख्यामा चिनियाँ र बेलायती दक्ष कामदार रहेका छन् । छ हजार दुई सय ९० जना चिनियाँ र चार सय २७ जना बेलायती दक्ष कामदार यहाँ कार्यरत रहेको श्रम तथा सुरक्षाजन्य विभागले जनाएको छ । त्यसैगरी, अमेरिकी दुई सय ५७ जना, भारत दुई सय सात जना, दक्षिण कोरियाली एक सय ९० जना, जापानी एक सय ३७ जना, अष्ट्रेलियाली ९७ जना, इटलियन ७६ जना, फ्रान्सेली र जर्मनीका क्रमशः ७३ जना, श्रीलंका ७८ जना, फिलिपिन्स ७० जना र स्पेनी ३२ जना दक्ष कामदार यहाँ कार्यरत छन् । विभागका अनुसार नाइजेरियन ४३ जना, भेनेजुयला छ जना, युगान्डा तीन जना, सर्बिया दुई जना, रुवान्डा र लिथुआनियाबाट क्रमशः दुई जना दक्ष कामदार यहाँ कार्यरत छन् ।
एसिया, अमेरिका, युरोप र अफ्रिका महादेशका ७० भन्दा बढी मुलुकका दक्ष विदेशी नागरिक नेपाल आउने गरेको विभागको तथ्यांकले देखाउँछ । पछिल्लो समय चिनियाँ कामदार नेपालमा बढ्नुको कारण भने यहाँका विभिन्न परियोजनामा चिनियाँ लगानी हुन कारण मानिन्छ । चीनबाहेक विभिन्न मुलुकबाट आएका दक्ष कामदारहरुमा ठूलो संख्यामा विभिन्न प्रकारका इन्जिनियर रहेको र त्यसपछि भने ट्रेडिङ व्यवसाय सञ्चालन गर्ने, शिक्षक/शिक्षिका, विमान चालक, चिकित्सकलगायतका व्यक्तिहरु रहेको विभागले बताएको छ । विदेशी नागरिकहरको श्रम इजाजत व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७५ बमोजिम विदेशी नागरिकले श्रम स्वीकृति लिने गरेको पाइन्छ ।