काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेसनलका सञ्चालकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागले काठमाडौँ महानगरपालिका–२७ स्थित अन्तरा इन्टरनेसनलले प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि करविरुद्धको अपराध गरेको पाइएको जनाएको छ । विभागले सो कम्पनीका लेखापरीक्षक गणेशबहादुर केसी र श्यामसुन्दर यादवविरुद्ध मुद्दा दायर गरेको हो । विभागले १७ करोड सात लाख ५५ हजार रुपैयाँबराबरको बिगो दाबी गर्दै वैशाख २२ गते मुद्दा दायर गरेको सोमबार प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
आरोपी अन्तरा इन्टरनेसनलले आठ करोड ५३ लाख ७७ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर र आयकर छली गरेको पाइएको छ । विभागले आरोपीविरुद्ध शतप्रतिशत जरिवाना समेत गरी १७ करोड सात लाख ५५ हजार रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो ।