काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र नेपाल क्यिरिङ हाउस लिमिटेडबीच नेसनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि औपचारिक रूपमा नेपाल–पे क्यूआर सुविधा सुचारु गर्न सम्झौता भएको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल क्यिरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार ग्लोबल आईएमई बैंकले नेसनल पेमेन्ट स्वीचको पहिलो चरणअन्तर्गत बिलर गेटवेको सफल इन्टिग्रेसन गरी आफ्नो मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमा सरकारी तथा अर्धसरकारी बिल भुक्तानी, क्रेडिट कार्डको बिल भुक्तानी, बीमा शुल्क भुक्तानी, सेयर कारोबारको भुक्तानीलगायतका विभिन्न भुक्तानीहरू उपलब्ध हुने व्यवस्था गरेको छ । साथै बैंकले नेसनल पेमेन्ट स्वीचअन्तर्गतका नेपालपे क्यूआर, नेपालपे इन्सट्यान्ट, नेपालपे रिक्वेस्टलगायतका अन्य सेवाहरू पनि चाँडै नै उपलब्ध गराउने छ । सुरक्षित र भरपर्दो माध्यमको रूपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवद्र्धनका लागि ग्लोबल आईएमई बैंक सदैव अग्रसर रहिआएकोे छ ।
ग्लोबल आईएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, दुई सय ५९ एटीएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब आठ सय ७० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ । नेपाल क्यिरिङ हाउस लिमिटेडले नेसनल पेमेन्ट स्वीचको कार्यान्वयनका लागि हालसम्म २७ वटा वाणिज्य बैंक, पाँचवटा विकास बैंक, १२ वटा फाइनान्स कम्पनी तथा ८ वटा भुक्तानी सेवा प्रदायक संस्था गरी जम्मा ५२ संस्थाहरू आबद्ध गराइसकेको छ ।
नेसनल पेमेन्ट स्वीचमा आबद्धमध्ये धेरैजसो संस्थाहरूले यस स्वीचअन्तर्गतका विभिन्न भुक्तानी उपकरणहरू कार्यान्वयन गरिसकेका छन् । नेसनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्डबमोजिम नेपाल–पे क्यूआर तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा ई–म्यान्डेटका उपकरणहरू, वालेट–वालेटबीच अन्तरआबद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्टलगायतका भुक्तानी उपकरणहरू उपलब्ध रहेका छन् ।