लण्डन । बिटक्वाइनको मूल्य ह्वात्तै घटेको छ । नोभेम्बरको अन्त्यतिर उच्च विन्दुमा पुगेको बिटक्वाइनको मूल्य आधाजसो घटेको बीबीसीले जनाएको छ । अहिले प्रतिबिटक्वाइन ३३ हजार अमेरिकी डलरमा आइपुगेको क्वाइनबेस क्रिप्टोकरेन्सी एक्सचेन्जले जनाएको छ ।
विश्वकै ठूलो भर्चुअल मुद्रा पछिल्लो समय विश्वका विनिमय बजार ओरालो लाग्दै गर्दा घटेको हो । सोमबार युरोपेली, एसियाली र अमेरिकी सूचकांकहरु ओरालो लागेका थिए । सोमबार जापानको निक्की २.५ प्रतिशतले, लण्डनको एफटीएसई १०० दुई प्रतिशतले घटेको थियो भने अमेरिकाको डो जोन्स र एसएन्डपी ५०० तथा नास्डाक एक प्रतिशतले ओरालो लागेको थियो ।
पछिल्लो समय व्यावसायिक लगानीकर्ता समेत भर्चुअल मुद्रामा आकर्षित भएका थिए । यसले बिटक्वाइन जस्ता क्रिप्टो मुद्राको मूल्य आकाशिएको थियो । विश्वको कुल क्रिप्टो बजारमा एक तिहाइ भाग बिटक्वाइनले ओगटेको छ । यसको कुुल मूल्यांकन छ खर्ब ४० अर्ब अमेरिकी डलर रहेको अनुमान छ । कुल मूल्यांकनमा पनि पछिल्लोपटक पाँच प्रतिशतले गिरावट आएको छ ।
अर्को ठूलो भर्चुअल मुद्रा एथेरियमको मूल्य समेत गत हप्तायता १० प्रतिशतले घटेको छ । पछिल्लो समय अमेरिका, बेलायत, अस्ट्रेलियाजस्ता देशमा केन्द्रीय बैंकहरुले ब्याजदर बढाएका छन् । नीतिगत परिवर्तनले पनि भर्चुअल मुद्राको मूल्यमा असर परेको हुनसक्ने आकलन छ ।