काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ग्राहकहरूलाई बैंकिङ सेवा पु¥याउने उद्देश्यले सोमबारदेखि थप दुई शाखाहरूको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरूमा ८२औँ शाखाको रूपमा कपिलवस्तु जिल्ला, शिवराज नगरपालिका वडा नं. ५ स्थित चन्द्रौटा शाखा र ८३औँ शाखाको रूपमा बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नं.८, स्थित ताराताल शाखा रहेका छन् ।
यस विकास बैंकको चन्द्रौटा शाखाको उद्घाटन विकास बैंकका सञ्चालक चिन्तामणि भट्टराई र लुम्बिनी प्रदेश सांसद अर्जुन केसीले संयुक्तरूपमा गरेका थिए । साथै ताराताल शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल र उद्योग वाणिज्य संघ तारातालका अध्यक्ष देवेन्द्र तिमल्सिनाले संयुक्तरूपमा गरेका थिए । सोमबार खोलिएका दुई शाखासहित यस विकास बैंकले देशका सातवटै प्रदेशमा ८३ वटा शाखाहरूमार्फत कारोबार गर्दै आएको छ । साथै कैलालीको लम्की र मसुरिया एवं कञ्चनपुरको वाणीमा समेत गरी थप तीन शाखा खोल्नको लागि तयारी गरेको बैंकले जनाएको छ ।
यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरूसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकहरूलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिकरूपमा ब्याज प्रदान गर्ने विशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।