काठमाडौं । एनआईसी एसिया क्यापिटल र सारा नेपाल लिमिटेडबीच क्यापिटलको आइडिया टु आईपीओ सेवा उपलब्ध गराउनेसम्बन्धी दुईपक्षीय सम्झौता भएको छ ।
एनआईसी एसिया क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापनकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पु-याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ ।
सोही सेवाअन्तर्गत सारा नेपाल लिमिटेडलाई संस्थागत परामर्श, सेयर रजिष्ट्रारको सेवासहित सारा नेपाल लिमिटेडलाई आईपिओ जारी गर्ने चरणमा पु-याई निकट भविष्यमा सर्वसाधारणहरूमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरूसहित) जारी गर्नुपर्ने साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि एनआईसी एसिया क्यापिटल लिमिटेड र सारा नेपाल लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता भएको हो ।
सारा नेपाल लिमिटेड डिपार्टमेन्टल स्टोर, जलविद्युत् परियोजना, यतायात तथा पर्यटन, होटल व्यवसाय, कृषिजन्य उत्पादन तथा बिक्री वितरण, सञ्चार, खाद्यवस्तुको उत्पादन तथा वितरण, स्वदेशी वस्तु तथा सेवाहरूको निर्यात गर्नेलगायतका कार्यहरू गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन भइरहेको छ ।
हाल सारा नेपाल लिमिटेडले किराना पसलेहरूलाई प्रवर्द्धन गर्ने मुख्य लक्ष्यका साथ एक सयभन्दा बढी सारा स्टोरको नामबाट किराना पसल सञ्चालन गरिहेको छ ।