नयाँ दिल्ली । भारतीय रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । अमेरिकी मौद्रिक नीतिमा कडाइपछि डलरको तुलनामा भारु कमजोर बनेको हो । उक्त कडाइपछि विदेशी लगानीकर्ताले भारतीय सेयर बेच्न थालेको बताइएको छ ।
तेलको बढ्दो मूल्य र भारुमाथि डलर बलियो बनेको छ भने केन्द्रीय बैंकले गत हप्ता पुँजी प्रवाहलाई निरन्तरता दिन ब्याजदर बढाएको छ । अहिले अमेरिकी डलरको तुलनामा भारु निकै कमजोर बनेको छ । मार्चमा प्रतिडलर ७७.५६ भारु रहेकोमा सोमबार ७६.९८ भारुमा झरेको हो ।
लगातार भारतको सेयरबजार सेन्सेक्स र निफ्टी ५० १/१ प्रतिशतले घटेसँगै भारुमाथि धक्का लागेको छ । भारतीय सेयरबजारमा बैंक, खनिज र तेल तथा ग्याससम्बन्धी सेयर धेरै घटेको बताइएको छ । सोमबार रिलायन्सको ३ प्रतिशतभन्दा धेरैले सेयर मूल्य घटेको थियो । विदेशी लगानीकर्ताले कुल १३ खर्ब ४० अर्ब भारु बराबरको सम्पत्ति झिकेका थिए ।
त्यस्तै भारतमा महंगी आउनसक्ने भय पनि बढेको छ । मार्च महिनामा उपभोक्ता मूल्यवृद्धि १७ महिनायताकै उच्च हुने क्रममा ६.९५ प्रतिशत पुगेको थियो । अर्थशास्त्रीहरुले आउँदो तथ्यांकले त्यो अझै वृद्धि हुने जनाएका छन् । त्यस्तै भारतको विदेशी मुद्रा सञ्चिति समेत लगातार आठौँ हप्ता घटेको छ । अप्रिल २९ सम्म भारतको यस्तो रकम छ खर्ब अमेरिकी डलरभन्दा कम रहेको छ । केन्द्रीय बैंकले भारुलाई स्थिर राख्न त्यो बेला विदेशी मुद्रा बिक्री गरेको थियो ।