काठमाडौं, फागुन ५
नेपालको सबैभन्दा ठूलो फुड डेलिभरी प्लेटफर्म फुडमाण्डु प्रालिले नेपालमा आधारित निजी लगानी फण्ड संस्था टिम भेन्चर्सबाट दोस्रो चरणको लगानी हासिल गरेको छ । सन् २०१० मा आईटी व्यवसायी मनोहर अधिकारीले स्थापना गरेको फुडमाण्डुको फुड डेलिभरी व्यवसाय सन् २०१५ को भूकम्पपश्चात् पनि सशक्त हुँदै सन् २०१६ मा टू नर्थ एसोसिएसन(टीएनए)बाट सुरुवाती चरणको लगानी प्राप्त गरेको थियो ।
फुडमाण्डुले हाल काठमाडौँ उपत्यकाभित्र मात्र पाँच सयभन्दा बढी रेष्टुरेन्टहरूबाट दुई सय जना राइडरको सहयोगबाट फुड डेलिभरी सेवा दिइरहेको छ । टिम भेन्चर्सले फुडमाण्डुमा करिब २० प्रतिशत सेयर ओगट्नेछ जसअन्तर्गत नयाँ सेयरहरू र टीएनएले लिएको केही सेयरहरू खरीद गर्नेछ । ‘हामी फुडमाण्डुजस्तो घरेलु स्तरमा बढ्दै गरेको, नयाँ अर्थ व्यवसायमा लगानी गर्न पाउँदा र यसको भविष्यको वृद्धिमा सहभागी हुन पाउँदा हर्षित भएका छौँ,’ टिम भेन्चर्सका संस्थापक तथा सीईओ तेन्जिन गोन्सारले भने ।
उनको कम्पनीले विभिन्न रियलस्टेट डेभलपमेन्ट प्रोजेक्टहरू, मर्चेन्ट बैंकिङ कम्पनी, स्टक मार्केटमा लगानी गरेको छ भने आफ्नै ट्रेडिङ कम्पनी पनि सञ्चालन गर्दछ । टिम भेन्चर्स संस्थागत भेन्चर फण्डको प्रमुख सेयरहोल्डर हो र यसले कयौँ जलविद्युत् परियोजनाहरूको सेयर लिएको छ । त्यसैगरी प्रमुख बीमा कम्पनीहरूले नेतृत्व गरेको अटोसर्भिसिङ सेन्टर चेनको प्रमुख प्रबर्द्धक पनि हो ।