काठमाडौं फागुन ५
मेगा बैंक नेपाल लिमिटेडले दोहा बैंकबाट दुुई अर्ब रूपैयाँभन्दा बढी व्यावसायिक ऋण नेपाल भित्र्याउने भएको छ । मेगाले कतारको दोहा बैंकबाट दुुई करोड अमेरिकी डलर (करिब दुुई अर्ब २५ करोड रूपैंया) भित्र्याउन लागेको हो । मेगा बैंककी प्रमुुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र दोहा बैंकका नेपालस्थित कार्यालयका प्रमुख सुरजविक्रम शाहीबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
दोहा बैंकले नेपालको बैंकमा लगानी गरेको यो पहिलो पटक हो । नेपाल राष्ट्र बैंकको स्वीकृतिलगत्तै मेगाले यो रकम नेपालमा भित्र्याउनेछ । कुल प्राथमिक पुँजीको शतप्रतिशत रकम विदेशबाट व्यावसायिक ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने नेपाल राष्ट्र बैंकको व्यवस्था मेगा बैंकले दोहा बैंकबाट रकम ल्याउने प्रक्रिया थालेको थियो ।
नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य पुँजी (तरलता) अभावको समस्यालाई समेत मध्यनजर राख्दै दोहा बैंकबाट रकम भित्र्याउन लागेको मेगा बैंकले जनाएको छ । योसँगै बजारमा तरलताको अभाव अन्त्य भई सरलरूपमा कर्जा प्रवाह हुने र व्यावसायिक लगानीकर्ताहरूलाई राहत मिल्ने मेगा बैंकको विश्वास छ । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको अहिले देशभर एक सय ११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, एक सय १४ वटा एटीएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ केन्द्रहरू र २५ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।